काठमाडौँ : सोमबार सेयर बजार अहिलेसम्मकै उच्चतम ८८.८१ अंकले घटेर १ बजेर २९ मिनेटमै बन्द भएको छ। ११ बजेबाट खुलेको बजार पाँच प्रतिशतले घटेपछि बीचमै बन्द भएको हो।
१३ साउनमा उच्चतम १८८१ अंक पुगेपछि झर्न थालेको बजार त्यसयता कुनै दिन पनि हरियो भएन। हिजो एकल अंकले घटे पनि गत साता हरेक दिन दोहोरो अंकले बजार ओरालो लागेको थियो। आज भने ऐतिहासिक रुपमै फराकिलो अन्तरले सेयर बजार खस्किएको हो।
उच्चतम अंकबाट निरन्तर ८ दिन बजार घटेर १६७५.९१ अंकमा आएको छ। कारोबार रकमसमेत घटेर ८७ करोड ९३ लाख रुपैयाँमा खुम्चिएको छ। बढ्दो बजारमा अधिकतम पौने चार अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो।
बजार घट्नुमा धितोपत्र बोर्डको नियमित ताकेता र अध्यक्ष डा. रेवतबहादुर कार्कीको एक पत्रिकामा प्रकाशित लेख प्रमुख कारण रहेको लगानीकर्ता र ब्रोकरहरु बताउँछन्। यसैबीचमा माओवादी नेतृत्वमा सरकार बन्नुले पनि बजार घट्नमा बल पुर्याएको लगानीकर्ताहरुको दावी छ।
बजार घट्नुमा चार वटा मूख्य कारण रहेको ब्रोकर तथा लगानीकर्ताहरु बताउँछन्।
पहिलो, केही दिने बजार घटेपछि फेरि पुरानै लयमा फर्किन्छ भन्ने आम अनुमान विपरित बजार एकै दिन ४५ अंकले ओर्लिएपछि लगानीकर्ता अत्तालिएका थिए। उनीहरु आत्तिएर सेयर बेच्न थालेपछि बजारमा आपूर्ति बढ्यो र केही दिन संयमित भएर बसेकाहरु पनि बजारमा सेयर फ्याक्न थाले। लगानीकर्ताको विश्वासमा पहिरो गएपछि बजार यति फराकिलो अन्तरले झरेको ब्रोकरहरु बताउँछन्।
दोस्रो, घट्दो बजारमा ठूला र संगठित लगानीकर्ताहरुले मेनुपुलेसन गरे। उनीहरुले किन्ने पोइन्ट भेट्टाउनलाई १८८१ अंकलाई अप्टिमम पोइन्टका रुपमा ब्यख्या गरे। त्यही बीचमा धितोपत्र बोर्डले बजारमा कालोधनको प्रवेश छ कि छैन भनेर छानविन गर्न समिति नै बनायो। अप्टिमम पोइन्टको हल्लाले साना लगानीकर्ता आत्तिएका थिए भने कालोधनले ठूला लगानीकर्ताको पनि मनोबिज्ञान हल्लाइदियो। धितोपत्र वोर्ड, सरकार र राष्ट्र बैंकलाई ठिक गर्छु भन्ने केही संगठित र ठूला लगानीकर्ताले बजारमा केही मेनुपुलेसन गर्दा त्यसको असर पनि पर्यो।
तेस्रो, माओवादी नेतृत्वमा सरकार बनेपछि लगानीकर्ता निरास भए भनिन्छ। विगतमा पनि प्रचन्ड नेतृत्वको सरकार बन्द बजार ओरालो लाग्न सुरु गरेको थियो। यसपाली पनि बजारमा 'प्रचन्ड' प्रभाव परेको लगानीकर्ता बताउँछन्।
चौथो, धितोपत्र वोर्डले प्रत्येक बुलको ठेक्का लिएर 'हामीले नै हो बजार माथि लैजाने र तल झार्ने' जस्तो गरी स्टेटमेन्ट दिइरह्यो। बजारको उपयुक्त आकार कति हो? हाइट कति हो ? भन्ने ठेक्का हामीले लिएको जस्तो गरेर वोर्डले निरन्तर वक्तब्यवाजी गरिरह्यो। त्यतिले नपुगेर अध्यक्षले आर्टिकल नै लेखेर अब लगानी गर्दा खतरा हुने धारणा सार्वजनिक गरे। मूख्य यी चार कारणले बजार ओरालो लागेको हो।
'वोर्डको स्टेटमेन्टले लगानीकर्ता डराउन थालेका हुन्। माओवादी सरकार पनि एउटा निउँ भयो,' एक ब्रोकरले भने, 'बजार अप्टिमम पोइन्टमा पुगेको भन्ने हल्ला पनि चल्यो। यही कारणले घटेको हो। अब राज्यले संवोधन गरेन भने अझै फराकिलो अन्तरले घट्ने सम्भावना छ।'
बजार उच्च दरले घट्दा पनि सोमबार उत्पादनमूलक समूह भने ८.४५ अंकले हरियो भएको छ। सबैभन्दा बढी बीमा सुचक ५३७.८४ अंकले ओर्लिएको छ। जलविद्युत ११७ र बैंक ९२ अंकले घटेका छन्। विकास बैंक, फाइनान्स, होटल र अन्य सुचक पनि फराकिलो अन्तरले घटेको छ।