
खेलकुदको महाकुम्भ मानिने गृष्मकालिन ओलम्पिकको ३१ औं संस्करण ब्राजिलमा सुरु भइसकेको छ। ओलम्पिकलाई खेलाडीको खेल कौशल देखाउने स्थानको रुपमा लिइन्छ। तर पनि ओलम्पिकको इतिहास राजनीतिक, सांस्कृतिक र सामाजिक रुपमा सम्बन्धित रहेको हुन्छ। महिला खेलाडीको सहभागितादेखि पाराओलम्पिकको जन्म र म्युनिख आतंक लगायत केही त्यस्ता क्षण पनि छन् जसले ओलम्पिक इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत छुट्टै महत्व राखेको छ।
पहिलो पटक महिला खेलाडीको सहभागिता
पेरिसमा सन् १९०० मा भएको ओलम्पिकदेखि महिला खेलाडीले पनि सहभागिता जनाउन थाले। पेरिस ओलम्पिकमा कुल ९९७ खेलाडीमध्ये २२ महिला थिए। तर उनीहरुलाई जम्मा ५ खेलमा मात्र भाग लिने अनुमति थियो। जसमा टेनिस, सेइलिङ, क्रोकुएट, एक्युस्ट्रीनाजिम र गल्फ थियो।एक शतकपछि धेरै परिवर्तन भइसकेको छ। लण्डनमा चार वर्ष अघि भएको ओलम्पिकमा महिला खेलाडीले सबै खेलामा भाग लिएका थिए। अब ओलम्पिकमा कुनै नयाँ खेल थपियो भने त्यसमा महिला सहभागिता अनिवार्य बनेको छ।
एडोल्फ हिटलरलाई जेसी ओवेन्सको च्यालेन्ज
सन् १९३६ को ओलम्पिक जर्मनीमा भएको थियो। जसमा गोराहरुले कालामाथि दबाब सिर्जना गर्ने अनुमान गरिएको थियो। तर त्यतिखेर सबैभन्दा सफल खेलाडी काला जातिका थिए, जेसी ओवेन्स। ओलम्पिक इतिहासकै उत्कृष्ट खेलाडीको रुपमा रहेका अमेरिकी खेलाडी ओवेन्सले सय मिटर, २ सय मिटर, ४ सय मिटर रिले र लङजम्पमा स्वर्ण जिते।पछिल्लो स्पर्धामा जर्मन खेलाडी कार्ल लुडविङ लङले ओवेन्सलाई सुझाव दिएका थिए। ओवेन्सपछि रहँदै लङ दोस्रो भए। खेल सकिएपछि ओवेन्सलाई पहिले बधाई दिने खेलाडी उनै लङ भए र दुवै खेलाडी मेडल लिन सँगै गए।
ओवेन्सले पछि यसो भनेका थिए - हिटलरको अगाडि मसँग साथी हुन लङलाई धेरै आत्मबल चाहिएको थियो... तिमीले मसँग भएको सबै मेडल र कपलाई पगाल्न सक्छौं, तर त्यस समयमा लुजसँगको मेरो २४ क्यारेट फ्रेण्डसीपलाई कसैले पनि तोड्न सक्ने छैन।
पारा ओलम्पिकको जन्म
सन् १९४८ मा न्युरोलोजिस्ट सर लुडविङ गट म्यानले बेलायतमा स्पाइनलबाट पीडित व्यक्तिहरुसँग काम गरेका थिए। उनले रिहाविलिटेसन कार्यक्रममा आफ्ना बिरामीहरुलाई खेल मार्फत् चालयमान बनाए। उनको त्यो कार्यलाई अरुले पनि सिको गर्न थाले।सन् १९६० मा रोममा भएको ओलम्पिकमा गटम्यानले ४ सय ह्विलचिएर खेलाडीलाई पनि प्रतिस्पर्धा गराउन लगे, जसलाई प्यारलल ओलम्पिक भनियो। त्यसपछि पारालम्पिक्स अझै बलियो बन्दै गएको छ। सन् २०१२ मा लण्डनमा भएको पारालम्पिकमा १६४ देशका ४ हजार ३ सय २ खेलाडीले सहाभागिता जनाएका थिए।
मोहम्मद अलीलाई ३६ वर्षपछि पुन स्वर्ण पदक
मोहम्मद अलीको ओलम्पिक खेलसँग धेरै समय सम्बन्ध रह्यो। कासिउस क्लेको नामले चिनिने अलीले सन् १९६० मा रोममा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। आफ्नै देश अमेरिकामा गहिरो जातीय विभेद भए पनि ओलम्पिक र अमेरिकी खेलाडीका उनी ठूला समर्थक थिए।उनी ओलम्पिकलाई कतिसम्म माया गर्थे भने उनी मेडलसँगै सुत्थे। तर जब अमेरिकामा गोराहरुले मात्र काम गर्ने रेस्टुराँमा उनलाई काम गर्ने अनुमति दिइएन उनले आफ्नो मेडल नदीमा फ्याँकिदिए। त्यसको ३६ वर्षपछि जतिबेला उनी पार्किन्सनबाट पीडित थिए, सन् १९९६ मा आधुनिक ओलम्पिकको सय वर्ष पुरा भएको उपलक्षमा अलीले ओलम्पिक फ्लेम बोक्ने मौका पाएका थिए। यस्तै ओलम्पिक कमिटीले उनलाई नयाँ मेडल समेत प्रदान गरेको थियो।
ब्ल्याक पावर स्यालुट
सम्भवत सन् १९६८ मा मेक्सिकोमा भएको ओलम्पिकलाई सबैभन्दा खराब राजनीतिक प्रदर्शनीको रुपमा लिइन्छ। २ सय मिटर दौडमा टोमी स्मिथ र जोन कार्लोसले क्रमश स्वर्ण र रजत पदक जितेपछि भएको मेडल वितरण समारोहमा उनीहरुले आफ्नो हात माथि उठाउँदै ब्ल्याक पावर स्यालुट गरेका थिए।उक्त कार्यले अमेरिकन सिभिल राइट्स मुभमेन्टमा ठूलो उचाई दियो। जहाँ केही व्यक्तिहरुले काला अमेरिकी खेलाडीलाई प्रतिवन्ध लगानुपर्ने बताएका थिए।
त्यसका बाबजुत स्मिथ र कार्लोसलाई सिभिल राइट्सको लागि संघर्ष गरेको भन्दै मान्यता दिइयो। स्मिथलेपछि उक्त प्रदर्शनीलाई ब्ल्याक पावर स्यालुट भन्दा पनि मानव अधिकारको स्यालुट भएको बताएका थिए। दुई काला खेलाडीसँगै पोडियममा उभिएका गोरा अष्ट्रेलियन खेलाडी पिटर नर्मन जसले उनीहरुलाई समर्थन गरेका थिए। पछि मेडल समारोहमा उनीहरुले मानव अधिकारका लागि ओलम्पिक प्राजेक्ट ब्याड्ज लगाएका थिए।
म्युनिख आतंक
विभिन्न राष्ट्र बीच सहकार्य र भातृत्वको भावनासँग ओलम्पिक जोडिएको छ। तर सन् १९७२ मा जर्मनीको म्युनिखमा भएको ओलम्पिकमा अन्तर्राष्ट्रिय शान्ति भंग भयो। जहाँ प्यालेस्टानी आतंककारीले ओलम्पिक खेल्न गएका ११ इजरायली खेलाडीको हत्या गरे। एक जर्मन पुलिस समेत मारिए।उनीहरु ओलम्पिक भिलेजमा इजरायली बसेको अपार्टमेन्टको साँचो चोरेर त्यहाँ पुगेका थिए र २ खेलाडीलाई मारे। त्यसपछि ९ खेलाडीलाई बन्दक बनाएर मारिएको थियो।
अफ्रिकन राष्ट्रद्वारा १९७६ को ओलम्पिक बहिस्कार
मोन्ट्रेलमा सन् १९७६ मा भएको ओलम्पिक खेल अफ्रिकन राष्ट्रहरुले बहिस्कार गरे। २५ राष्ट्रले सुरुमा बहिस्कार गरेपछि इराक र गुयाना पनि बहिस्कारमा संलग्न भएका थिए।केन्याका विदेश मन्त्री जेम्स ओसोगोले एक स्टेमेन्टमा भनेका छन् - केन्याको सरकार र जनताको विचार के छ भने मेडल भन्दा आफ्नो सिद्धान्त धेरै महत्वपूर्ण छ। रसियाले अफगानिस्तानमाथि हमला गरेको भन्दै सन् १९८० मा अमेरिकी खेलाडीले पनि ओलम्पिक बहिस्कार गर्दै घरमै बसेका थिए।
क्याथी फ्रिम्यानको साहस
सन् २००० मा सिड्नीमा भएको ओलम्पिकमा घरेलु खेलाडी क्याथी फिम्यानलाई धेरै दबाब थियो। आयोजकको ६२८ जनाको टोलीमा रहेका ११ जना आदिवासीमध्ये उनी पनि एक थिए र ट्रयाकमा उनको प्रदर्शनले आधुनिक अष्ट्रेलियाको चित्र प्रोत्साहन गर्ने आशा गरिएको थियो।उनलाई ओलम्पिक फ्लेम बाल्नको लागि छनोट गरिएको थियो। तर ४०० मिटरमा दौडन लागेकी उनको ध्यान त्यसैतर्फ केन्द्रित थियो।
पछि उनले ४९.११ सेकेण्डमा ४ सय मिटर दौड पूरा गर्दै अष्ट्रेलियाको लागि ओलम्पिकका स्वर्ण जित्ने सयौं खेलाडी बनिन्। फ्रिमयानले भिक्ट्री ल्यापमा अष्ट्रेलिया र आदिवासीको दुवै झण्डा बोकिन्।
उत्तर र दक्षिण कोरियाका एक भएको क्षण
सन् २००० मै सिड्नीमै भएको ओलम्पिकमा उत्तर र दक्षिण कोरिया टीम उद्घाटन समारोहमा एकै बनेर मार्च पासमा सहभागि भएका थिए। जसलाई सच्चा रुपमा ओलम्पिक ऐतिहासिक क्षण मानिन्छ।उक्त समारोहमा दक्षिण कोरियाका महिला बास्केटबल खेलाडी चुङ उन सुन र उत्तर कोरियाका पुरुष जुडो प्रशिक्षक पार्क चोङ चुलले एकिृकत टीमको नेतृत्व गरेका थिए। उनीहरुले संयुक्त रुपमा कोरियाको झण्डा बोकेका थिए। सेतो आकारको पृष्ठभूमि भएको उक्त झण्डामा दुवै कोरियाको नक्सा अंकित थियो।