PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​आत्मसमर्पणवादी मानसिकता बढेर गयो : संसदबाट कमल थापाका ८ प्रहार



पहिलोपोस्ट

​आत्मसमर्पणवादी मानसिकता बढेर गयो : संसदबाट कमल थापाका ८ प्रहार

काठमाडौँ : भर्खरै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको जिम्मेवारीबाट मुक्त भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा 'आत्मसमर्पणवादी' मानसिकता बढेर गएको टिप्पणी गरेका छन्। नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदबाट बधाई दिँदै थापाले नयाँ सरकार निर्माणबाट नेपाली जनताको निर्णायकत्वमाथि 'कालो बादल' लागेको बताए। 

१)    तीतो सत्य स्वीकार

'संविधान निर्माण गर्ने क्रमसँगै नेपाली जनताको निर्णायकत्वलाई स्थापित गर्यौँत। नेपाली जनताको निर्णायकत्व पुष्टि गर्दै सरकार गठन भयो। नाकाबन्दी अन्त्य भयो। हामीले अधिकार सम्पन्न बनाउने ढंगले अगाडि बढ्यौँ। यो सरकार गठनसँगै नेपाली जनताको निर्णायकत्व माथि कालो बादल लागेको छ। तीतो सत्य स्वीकार गर्नुपर्छ', थापाले भने।  

२)    प्रचण्डका कारण सरकारमा गएको

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रचुर मात्रामा राष्ट्रियताको भावना भएको आफूले ठानेको बताए। 'ओली सरकार गठनका बेला अन्तिमसमयसम्म सरमारमा आउन आग्रह गर्ने वर्तमान प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी त्यो बेलामा पनि सरकारमा जाने मनस्थितिमा थिएनौँ। तर त्यो बेलामा राष्ट्रियताको प्रश्न अघिल्लितर सार्दिनुभयो। हामीले कदम सहि ठान्यौँ। साथ दियौँ।' 

३)    कुनै पनि नेपाली भारतविरोधी हुन सक्दैन

उनले नेपालका दुई छिमेकी रहेको उल्लेख गर्दै कुनै पनि राष्ट्रवादी नेपाली भारत विरोधी हुन नसक्ने जिकिर गरे। तर अहिले नेपालमा देखिएको आत्मसमर्पणवादी मानसिकताले नेपाल र भारत दुवैको हित नहुने बताए। 


४)    चिनियाँ रेल काठमाडौँ ल्याउनु पर्दैन?

'नेपालले आफ्नो राष्ट्रिय हित र स्वार्थको सम्बद्धन गर्ने विषयमा चीनसँग सम्बन्ध बढाउनु भारतको विरोध होइन। मैले भारतीय नेताहरुलाई भनेको छु जब नेपालको सीमाना केरुङमा रेल आइपुग्दछ त्यो रेल काठमाडौँ ल्याउनु पर्दैन? त्यो तल लानु पर्दैन? त्यसले कहाँ भारतको अहित हुन्छ? ‘, उनले सोधे। 

५)    नाकाबन्दी र वैकल्पिक आपूर्ति

उनले थप सोधे, ‘तीन-तीन पटक नाकाबन्दी भोगेको मुलुकले आफ्नो वैकल्पिक आपूर्ती व्यवस्था मिलाउनु पर्दैन। त्यसका निमित्त चालिएका कदम के भारत विरोधी हो?’

६)    आफ्नो हित गर्न खोज्दा भारतको अहित 

‘खुल्ला सिमाना भएको भारतसँगको हाम्रो सम्बन्ध युनिक छ अरुसँग तुलना हुनै सक्दैन। नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान र हितको सम्बर्धन गर्न खोज्दा भारतको अहित भयो भन्ने ढंगबाट आत्मसमर्पणवादी मानसिकता हामीकहाँ बढेर गएकोमा मलाई चिन्ता हो,' उनले भने। 

७)    भारतलाई भन्दा हामीलाई चिन्ता

थापाले भारत सरकारको आधिकारिक दस्तावेजमा नेपाल भारत सम्बन्ध अत्यन्त सुमधुर र सुदृढ हुदै गएको उल्लेख गरिएकोप्रति ध्यानाकर्षण गराए।  'केही महिना अघि प्रकाशित आधिकारिक दस्तावेजमा नेपाल भारत सम्बन्ध उचाईमा पुगेको र नेपालमा संविधान जारी भएपछि प्रजातन्त्र सुदृढ भएको भारतीय दस्तावेजमा छ।‘ 

‘तर चिन्ता भारतलाई भन्दा पनि हामीलाइ भइराखेको छ। भारतसँगको सम्बन्ध चिसो भयो। यही रोष्टममा सम्मानित नेताहरुले भन्नुभयो नेपाल भारत सम्बन्धमा विचलन आयो। भारतीयहरु त्यो भन्न तयार छैनन्। हामी त्यो चिन्ता व्यक्त गरिराखेका छौँ।' 

८)    विपक्षमा भोट हाले पनि सहयोग

उनले आफ्नो पार्टीले संविधानको विपक्षमा मतदान गरेर पनि संविधान कार्यान्वयनमा सहयोग गरेको बताए।

'फरक मान्यता बाबजुद संविधान कार्यान्वयन गर्ने क्रममा गाविसदेखि स्थानीय तहदेखि संयुक्त राष्ट्रसंघमा गएर संविधानको प्रचार गर्ने अग्रणी काममा सबैभन्दा बढी काम गरेको छ। विपक्षमा भोट हालेको भए पनि संविधानको डिफेन्ड गरेको छ। विपक्षमा भोट हालेको भएपनि यो संविधान प्रजातान्त्रिक छ समानुपातिक र समावेशी छ भनेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell