PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

​यसरी स्थगित भयो नेविसंघको ११औँ महाधिवेशन



रमेश वाग्ले

​यसरी स्थगित भयो नेविसंघको ११औँ महाधिवेशन

काठमाडौँ : नौ वर्षपछि हुन लागेको नेपाल विद्यार्थी संघको महाधिवेशन उद्घाटनपछि अन्योलमा परेको छ। कांग्रेसमा सुशील कोइराला सभापति हुँदै सुरु भएको नेविसंघ महाधिवेशन शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको पाँच महिनापछि हुन लाग्दा समेत विवादका कारण स्थगित भएको हो। 

नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा निकटका विद्यार्थीहरु र कृष्ण सिटौला र गगन थापा समूहका कुन्दन काफ्ले नेतृत्वको समूहले गरेको अनसन विवादको कारण बनेको छ।
 
महाधिवेशन गराउनका लागि नेपाली कांग्रेसले गठन गरेको निर्देशक समिति गत १० गतेदेखि क्रियाशील छ। तर त्यहाँबाट समेत कुनै परिणाम आउन सकेको छैन।
 
आइतबार महाधिवेशन उद्घाटन सकिएपछि राति ११ बजे देखि सुरु भएको निर्देशक समितिको बैठक सोमबार बिहान साढे तीन बजेसम्म जारी रह्यो। डा. प्रकाशशरण महतको निवास बाँसबारीमा भएको बैठकमा नेविसंघ अध्यक्ष रञ्जीत कर्ण र देउवा पक्षीय विद्यार्थी नेता ऋषिकेशजंग शाही सहभागी भए।


 

केमा छ विवाद?

नेविसंघभित्र ११ जिल्लाको प्रतिनिधिमा विवाद छ। त्यसलाई मिलाउन अस्तित्वमा रहेजति सबै समूहलाई महाधिवेशन प्रतिनिधिको भाग लगाएर सहभागी गराउने प्रस्ताव पार्टीको निर्देशक समितिका तर्फबाट संयोजक डा. महतले राखे। त्यसलाई नेविसंघ अध्यक्ष कर्णले ठाडै अस्वीकार गरे। उनको अस्वीकृतिमा साथ दिएर नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले तर्क गरे।
 
'निर्वाचन गराउने बहालवाला अध्यक्ष यही छ। कि अध्यक्षलाई अधिवेशनको अधिकार दिन भएन' घिमिरेले भने, 'हैन भने उसले गरेको अधिवेशन बदर गरेर कसरी भागवण्डा गर्न मिल्छ।'
 
देउवा पक्षका सदस्य किशोरसिंह राठौरले नेतृत्वमा रहेकाले जे पनि गर्न सक्ने भन्दै नेतृत्व भनेको पेलेर जाने नभएको बताए। त्यसपछि उनले 'मिलाउनकै लागि निर्देशक समिति बनेको भन्दै 'सहमतिमा आउन' द्वन्द्व गरेर अघि बढ्न चुनौति गरे।

त्यसो भनेपछि कर्णले 'नेतृत्वमा आफ्नै मान्छे आवश्यक भए कमिटी विघटन गर्ने र अर्को अध्यक्ष चुन्ने अधिकार सभापति देउवालाई रहेको भन्दै त्यस्तो नियत नभए विधि अनुरुप महाधिवेशनमा प्रतिस्पर्धा गर्न तयार हुन' चुनौति गरे।

डाक्टर महतले हरेक जिल्लामा प्रतिनिधिको संख्या हेरेर सबैलाई मिलाउन प्रस्ताव गरे। नेविसंघ अध्यक्ष कर्ण नै अघि सरेर 'त्यसो भए हामीलाई ५५ प्रतिशत प्रतिनिध सुनिश्चित गर्नुहोस्' भन्दै प्रस्ताव राखे। 

प्रदिप पौडेलले कसैले ५५ प्रतिशतको दावी गर्दैमा उसको हैसियत त्यही नहुने बताए। विगतमा संस्थापनकै समूहबाट राजनीति गरेर अध्यक्ष समेत रहेका पौडेल अहिले सिटौला-गगन-प्रदिप समूह बनाएर अध्यक्षको उम्मेद्वार कुन्दन काफ्लेलाई बनाएर अघि बढेका छन्।

उनले 'सबै जिल्ला र क्याम्पसमा अधिवेशन नै नगराएको' भन्दै 'अधिवेशन गराउन नसक्ने अध्यक्षले भाग खोज्न नमिल्ने' बताए।

सुल्झिएन विवाद

आपसी विवाद नसुल्झिएपछि साढे तीन बजे फेरि बसौँला भन्दै महतले बैठक टुंग्याए। दुबै पक्ष छुट्टाछ्ट्टै छलफलमा जुटे।
 
६४ जिल्लाको प्रतिनिधि विवरण विगतमा नै महामन्त्री प्रकाशमान सिंहलाई बुझाइसकिएको थियो। त्यतिबेला निर्देशक समितिका संयोजक प्रकाशमान सिंह थिए।

तिनै प्रतिनिधिको परिचयपत्र तयार भइसकेको थियो। वितरणका लागि कर्मचारीहरु पनि खटिएका थिए। प्रतिनिधिहरु परिचयपत्र लिन कहाँ आउने भन्दै फोन गर्न थालिसकेका थिए। सचिवालयका कर्मचारीले परिचय वितरण  गरौ भन्दै अध्यक्षलाई सोधे। त्यतिबेलासम्म फोन गर्ने प्रतिनिधिलाई एक घण्टा पख्नुस्, आधा घण्टा पख्नुस् भन्दै कर्मचारीले टारीरहेका थिए।

११ बजे बल्ल स्थगित गर्ने सुझाव

बिहान ११ बजेपछि निर्देशक समितिका संयोजक डा प्रकाशशरण महतले भोलिसम्म बन्दसत्र स्थगित गर्न सुझाव दिँदै त्यतिबेलासम्म प्रतिनिधि विवाद टुङ्याउने बताए। अध्यक्ष कर्णले त्यही सूचना सचिवालयका मुख्य सचिव शिव रिमाललाई गराए। उनले सूचना निकालेर टाँसे।
 
सोमबार बिहान ११ बजे हुने भनिएको बन्दसत्र मंगलबार दिउँसो दुई बजेका लागि सारिएको सूचना प्रकाशित भयो। देशभरबाट आएका प्रतिनिधि अहिले निराश छन्। यस पटक पनि इलेक्सन नभएर सेलेक्सन हुने हो कि भन्ने अन्यौलमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell