PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेको शव काठमाडौँ ल्याई पोस्टमार्टम गरियो

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेको शव काठमाडौँ ल्याई पोस्टमार्टम गरियो

रासस/पहिलोपोस्ट


काठमाडौँ : नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका सबैको शव परीक्षणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याई पोस्टमार्टम गरिएको छ। 

फिस्टेल एयरकै अर्को हेलिकप्टरमार्फत सबै शव शिक्षण अस्पताल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। 

दुर्घटनामा हेलिकप्टर चालकसहित सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा क्याप्टेन रन्जन लिम्बू, यात्रुहरु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ र एक नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

 गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जना परेका थिए।

सो हेलिकप्टरमा जिल्लाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उहाँकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उहाँको पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ लगिदै थियो । हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिए।

जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू थिए। रासस


ट्रेन्डिङ पोस्ट

Ncell