PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रधानमन्त्रीको निर्देशनपछि साउदीस्थित दूतावासले स्पष्ट पार्‍यो नेपाली कामदारको अवस्था



पहिलोपोस्ट

प्रधानमन्त्रीको निर्देशनपछि साउदीस्थित दूतावासले स्पष्ट पार्‍यो नेपाली कामदारको अवस्था

काठमाडौं : विदेशमा अलपत्र रहेका नेपालीहरुको तत्काल उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएलगत्तै साउदी अरबस्थित नेपाली महावाणिज्यदूतले आफ्ना कामकारबाहीबारे जानकारी दिएको छ।
 
साउदी अरबका विभिन्न कम्पनीमा नेपाली कामदारले लामो समयदेखि तलब नपाई समस्यामा रहेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै महावाणिज्य दूतावासले विज्ञप्तिमार्फत नेपालीको अवस्थाबारे स्पष्ट पारेको हो।
 
साउदीकै ठूलो निर्माण कम्पनी 'साउदी ओगर'मा कार्यरत ४१ जना नेपालीले २०१६ जनवरीदेखि तलब नपाएको भन्दै जुलाई २७ मा र सोही क्याम्पहरुमा जुलाई अन्तिमदेखि खानाको मेस बन्द गरिएको गुनासो गर्दै उद्धारका लागि नेपालीहरुले उजुरी गरेका थिए।
 
अगस्ट १ बाटै खानाको प्रबन्ध मिलाएको र तलब नपाएका ४१ कामदारमध्ये ६ जनालाई नेपाल नै फर्काइसकिएको महावाणिज्यदूतावासले स्पष्ट पारेको छ।  समस्यामा परेका नेपालीले घर फर्कन चाहे नि:शुल्क 'एक्जिट भिसा' उपलब्ध गराउने विषयमा छलफल भइरहेको समेत दूतावासको भनाइ छ।
 

ओगर कम्पनी आर्थिक समस्याका कारण बन्द भएकाले साउदी सरकारले समेत त्यहाँ कार्यरत कामदारलाई स्वदेश फर्काउन सहयोग उपलब्ध गराउने बताइसकेको छ। साउदी राजा सल्मानले कामदारहरु समस्यामा रहेको जनाउँदै उनीहरुलाई तलब उपलब्ध गराउन सम्बन्धित कम्पनीहरुलाई निर्देशन दिइसकेका छन्।

साउदीमा रहेका कम्पनीहरु आर्थिक संकट परेपछि अन्य मुलुकबाट जाने कामदारहरूले निकै समस्या भोग्नुपरिरहेको छ।
 
सोमबार प्रधानमन्त्री प्रचण्डले साउदी अरब, श्रीलंका लगायतका मुलुकमा समस्यामा परेका नेपाली कामदारको उद्धारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
 
परराष्ट्र सचिव शङ्करदास वैरागीलाई टेलिफोन गरी नेपाली नागरिक विदेशमा अलपत्र पर्नु स्वाभाविक नभएको र नेपालीले कुनै पनि रुपमा दुःख पाउन नहुने भन्दै तत्काल स्वदेश फर्काउन भनेका थिए।
 
निर्देशनमा ‘साउदी अरबमा सयौं नेपाली र श्रीलङ्कामा ४५ महिला अलपत्र परेको समाचार आएको छ। यथार्थ बुझेर तुरुन्तै उनीहरुलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस्’ भनेको उनको सचिवालयले जनाएको छ।
  
परराष्ट्र सचिव वैरागीले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्वयन गर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell