PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

रियो ओलम्पिकमा आज नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

रियो ओलम्पिकमा आज नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दै

ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं ओलम्पिकको चौथो दिन आज ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
 
आर्चरीका जितबहादुर मोक्तान, जुडोकी फुपुल्हामु खत्री र पौडीका शिरीष गुरुङले आ-आफ्नो स्पर्धामा खेल्दैछन्।
 
र्‍याङ्किङ राउण्डमा ६४ खेलाडीमध्ये ६० औं स्थानमा रहेका मोक्तानले इन्डिभिजुअल रिकर्भमा भारतका अतनु दाससँग खेल्दैछन्। दास र्‍याङ्किङ राउण्डमा पाँचौ भएका थिए।

मोक्तान र दासबीचको खेल नेपाली समयअनुसार आज बेलुका ८:२१ मा सुरु हुनेछ।

विश्व वरियतामा ३०८ औं स्थानमा रहेका मोक्तानले सुरुवाती राउण्डमा ६०७ स्कोर मात्र गर्न सफल भएका थिए। यता २२ औं वरियतामा रहेका दासले भने ६८३ स्कोर गरेका थिए।
 

फुपुलाई कठिन चुनौती

फुपुल्हामु खत्रीले जुडोको ६३ केजीमुनि तौल समूहमा क्युवाली खेलाडी मारिसेट स्पिनोसासँग प्रतिस्पर्धा गर्नेछिन्। पान अमेरिकन गेममा सन् २०१३ र २०१४ मा स्वर्ण पदक जितेकी स्पिनोसा फुपुका लागि कठिन प्रतिद्वन्द्वी हुन सक्छिन्।
 
राउण्ड अफ ३२ अन्तर्गत हुने खेलमा फुपुले पूरै ५ मिनेट टिक्न सक्नु नै आफ्नो उपलब्धि हुने बताएकी थिइन्। त्यसैले क्युवाका स्पिनोसासँग ५ मिनेट टिक्न सके त्यो नै उनका लागि सफलता हुनेछ। भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी फुपुले ओलम्पिक छात्रावृत्ति अन्तर्गत हंगेरीमा करिब ७ महिना प्रशिक्षण लिएकी थिइन्। रियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने अवसर पाएकी उनी वाइल्ड कार्ड मार्फत छनोट भएकी हुन्।

फुपु र स्पिनोसाबीचको खेल नेपाली समयअनुसार आज बेलुका ७:१३ बजे सुरु हुनेछ।
 

पौडीमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य

रियो प्रस्थान गर्नुअघिको एक भेटमा नेपाली पौडीका स्टार शिरीष गुरुङले आफ्नो लक्ष्य राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै विश्व कीर्तिमानको नजिक पुग्नु रहेको बताएका थिए। उनै नम्बर वान स्वीमर शिरीषले आज पौडीतर्फ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दैछन्।

उनको नाममा ५८.२२ सेकेण्डको राष्ट्रिय कीर्तिमान रहेको छ। गत वर्ष रुसको कजानमा भएको १६ औं फिना च्याम्पियनसिपमा उनले उक्त कीर्तिमान बनाएका थिए। रियोमा उनको लक्ष्य यसमा सुधार गर्नु रहेको छ। 

शिरीषले हिट चरणमा आठौं लेनबाट प्रतिस्पर्धा गर्दैछन्। २ नम्बर हिटमा शिरीषसँगै ८ खेलाडी रहनेछन्। जसमा रिफ्युजी टीमका रामी अनिस, निकारागुवाका मिगुएल मेना, माल्टाका आन्द्रे चेटचुटी, श्रीलंकाका म्याथ्यु अबेसिङ्गे, जिम्बाबेका सिन गुन, मोजाम्बिकका इगोर मोग्ने र कम्बोडियाका सोभिज्जा पोउ छन्।

यस स्पर्धाको खेल आज बेलुका ९:५० बजे हुनेछ। कुल ५८ खेलाडी रहेको स्पर्धाबाट उत्कृष्ट १६ मा पर्ने खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell