
इम्फाल : आज इरोम शर्मिला आफ्नो १६ वर्ष लामो अनशन तोड्दैछिन्। विशेष शक्तिसहित सेना परिचालन गर्ने ऐनविरुद्ध उनी अनशनमा उत्रेकी हुन्।
आइरन लेडी मनिपुरका रुपमा परिचित शर्मिलाले गत जुलाइ २६ मा अनशन तोड्ने घोषणा गरेकी थिइन्। त्यही उनले मनिपुरको प्रान्तीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उठ्नेसमेत बताएकी थिइन्। साथै उनले भारतमा जन्मिएका बेलायती डिसमन्ड काउटिनोस, जो उनका प्रेमीका रुपमा चिनिन्छन्, सँग बिहे गर्नेसमेत संकेत गरेकी थिइन्।
४४ वर्षकी शर्मिला आज इम्फाला वेस्टमा अदालतसामु उपस्थित भएर अनशन सकिएको घोषणा गर्ने कार्यक्रम छ। योसँगै उनलाई रिहा गर्न अदालतले आदेश दिनेछ।
उनका परिवारका सदस्यले इम्फाला इस्टमा रहेको घरमा उनलाई स्वागत गर्न तयार रहेको जनाएका छन् तर शंका छ - उनी त्यहाँ नबस्न सक्छिन्।
आसम राइफल्सका सैनिकले १० जना सर्वसाधारण मारेको दुई दिनपछि उनले अनसन थालेकी हुन्। सन् २००० को नोभेम्बर २ बाट सुरु भएको उनको अनशन आज अन्त्य हुँदैछ।