
२३ वर्षे फ्रेन्च स्टार पउल पोग्बा विश्वकै महँगा खेलाडी बनेका छन्।
कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्ट्सबाट युनाइटेडमा अनुबन्ध भएसँगै पोग्वा गारेथ बेललाई पछि पार्दै महँगा खेलाडी बनेका हुन्।
पोग्बा विश्वकै महँगो भएसँगै बेल दोस्रो स्थानमा झरेका छन्। यसअघि बेल इंग्लिस क्लब टोटनहमबाट कीर्तिमानी ८६ मिलियन पाउण्डमा स्पेनी क्लब रियल मड्रिड पुगेका थिए।
सन् २०१२ मा युभेन्ट्स लागेका पोग्बा ४ वर्षपछि पुन: युनाइटेड फर्केका हुन्। त्यति बेला युभेन्ट्सले १ दशमलव ५ मिलियनमा लिएको थियो। दोस्रो पटक युनाइटेडको जर्सीमा देखिने पोग्वालाई युनाइटेडले ५ वर्षको लागि सम्झौता गरेको छ। ६ नम्बरको जर्सी लगाउने अनुमान गरिएका पोग्बाले प्रतिसाता २ लाख ९० हजार पाउण्ड पाउनेछन्।
म्यानचेष्टरमा फर्केपछि क्लबको अफिसियल साइटमा एक भिडियोमार्फत पोग्बाले 'आई एम ब्याक' भनेका छन्। क्लबले सामाजिक सञ्जालमा 'रियुनाइटेड पोब्याक' भन्दै पोष्ट गरेको छ।
म्यानचेष्टरमा पुन: अनुबन्ध हुन पाउँदा आफू एकदमै खुसी भएको पोग्वाले बताएका छन्। उनले म्यानचेष्टर युनाइटेड सधैं आफ्नो प्रिय क्लब रहेको र व्यवस्थापक जोसे मोउरिन्होसँग काम गर्न उत्सुक भएको बताएका छन्।
'मैले आशा गरेको सबै उपलब्धि हात पार्न म्यानचेष्टर उपयुक्त क्लब हो,' पोग्बाले भने।
यता व्यवस्थापक मोउरिन्होले पोग्वा विश्वकै उत्कृष्ट खेलाडी भएको र भविष्यमा आफूले बनाउन खोजेको युनाइटेड टीममा पोग्वाको मुख्य भूमिका हुने बताएका छन्।
चार सिजन इटालियन क्लब युभेन्ट्समा बिताएका पोग्बाले १ सय २४ खेलमा २८ गोल गरेका थिए।
मोउरिन्हो युनाइटेडको व्यवस्थापक भएपछि युनाइटेड भित्रने पोग्बा चौथो खेलाडी हुन्। यसअघि युनाइटेडले डिफेन्डर एरिक बेल, मिडफिल्डर हेनरिक मखातरन र स्ट्राइकर ज्लाटन इब्राहिमोभिचलाई ओल्ड ट्राफोर्ड भित्र्याइसकेको छ।
यो पनि पढ्नुस् :
यी हुन् विश्वकै १० महँगा फुटबलर