
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले भेट गरेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा टोलीले प्रचण्ड नेतृत्वको सरकारसँग चीनले सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको जानकारी गराएको थियो।
भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा चिनियाँ अनुभवको आदान–प्रदान एवं सहयोग गर्न र ठूला परियोजनामा सहयोग गर्न चीन तत्पर रहेको टोलीले जानकारी गरायो। उक्त भेटमा विज्ञहरुले नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि गर्न पर्यटन पूर्वाधारको विकासका लागि अनुरोध गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले भने नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउन चाहेको भन्दै दुई ठूला देशहरुसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार इच्छुक रहेको बताए। साथै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपालले छिटै स्वागत गर्न पाउने अपेक्षा गर्दै दुई पक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेका थिए।