PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

नेविसंघमा उम्मेद्वार निश्चित, महाधिवेशन अझै अनिश्चित



रमेश वाग्ले

नेविसंघमा उम्मेद्वार निश्चित, महाधिवेशन अझै अनिश्चित

काठमाडौँ : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवैले उम्मेद्वारको टुंगो लगाएका छन्। पौडेल समूहले सोमबार बिहानै मनोजमणि आचार्यलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरिसकेको थियो भने सभापति देउवा समूहले सोमबार राति साढे १० बजे मात्र नैनसिंह महरलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो। 

दुबै पक्षले उम्मेद्वार निश्चित गरे पनि महाधिवेशनका लागि बन्द सत्र र चुनाव भने अझै निश्चित हुनसकेको छैन। 

अर्का नेता कृष्णप्रसाद सिटौला समूहका कुन्दनराज काफ्ले नेतृत्वको समूहले थालेको आमरण अनसन र उनीहरुले विवादित जिल्लामा ३० प्रतिशत हिस्सा दावी गरेपछि ती जिल्लाको प्रतिनिधि टुंगो लाग्न सकेको छैन। 

विवादित जिल्लामा देउवा पक्ष सिटौलाको समूहलाई बढी हिस्सा दिन तयार भए पनि पौडेल समूहले नमानेपछि विवाद मिल्न सकेको छैन। पौडेल समूहले सिटौला समूहलाई १० प्रतिशत हिस्सा दिन सकिने बताएको छ। तर सिटौला समूहले विगतको संस्थापनमा आफ्नो हिस्सा महत्वपूर्ण भएको भन्दै विगतको ६० प्रतिशतको आधा हिस्सा आफ्नो हुनुपर्ने दावी गरेको छ।

 ‘सिटौलाजीले नेतृत्व गरेको समूहले ३० प्रतिशत हिस्सा नहुँदासम्म मान्दिनँ भनेका कारण समस्या भइरहेको छ’ नेविसंघ अध्यक्ष कर्णले भने, ‘त्यसका लागि प्रदीप पौडेलज्यूले अड्डी कस्नुभएको छ। समस्या यहीँ भइरहेको छ।’ 

उनले धेरै प्रयासबाट पनि विवाद समाधान नहुँदा आफूले विवादित जिल्लामा पछि अधिवेशन गराउने गरी विवाद नभएका ६४ जिल्लाबाटै अधिवेशन गराउन आफूले राखेको प्रस्ताव नेताहरुले नमान्दा समस्या भएको बताए। 

‘मैले त उद्घाटनमा पनि भनेको हुँ। अहिले पनि नेताहरुलाई त्यही भनिरहेको छु कि विवाद मिल्दैन भने विवाद नभएकाहरुबाट भए पनि अधिवेशन सुरु गरौँ’ उनले भने, ’अध्यक्षले गराएको अधिवेशन मान्दिनँ भनेर भागवण्डामा हिस्सा सुरक्षित गर्ने खेलका कारण अधिवेशन सुरु गर्न सकिएको छैन।’ 

उनले साँझसम्म बन्दसत्र सुरु गर्ने अधिकमत प्रयत्न भइरहेको बताए। 

यसरी बन्न सफल भए आचार्य र महर दुई पक्षको उम्मेद्वार 

मनोजमणि आचार्य पौडेल पक्षका सबै उम्मेद्वारले दाजु भन्ने मध्येका उम्मेद्वार हुन्। दीपक भट्टराई, क्षितिज भण्डारी, आनन्दराज त्रिपाठी, निलकण्ठ रिजाल लगायतका पौडेल पक्षका अध्यक्षका दावेदारहरुले दाइ भनेर सम्बोधन गर्ने आचार्यलाई उम्मेद्वार मान्ने सवालमा त्यही सम्बन्धले काम गर्यो। 

मध्यपश्चिमाञ्चलको दुर्गम जिल्ला रोल्पाका आचार्य लामो समयदेखि नेविसंघ राजनीतिमा क्रियाशील छन्। धेरैजना पूर्व अध्यक्षहरुसँग काम गरिसकेका आचार्य गुटबन्दी भन्दा पनि नेतृत्वमा पुग्न राम्रो काम गर्नुपर्छ भन्ने मान्यता आफ्ना विचारमा राख्छन्। 

नेविसंघका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मासँग निकट भएर लामो समय काम गरेका आचार्य अहिले भने उनको विपक्षी समूहका तर्फबाट चुनाव लड्दैछन्। विश्वप्रकाशले १३औं महाधिवेशनमा कांग्रेस भित्रको कित्ता परिवर्तन गरेपनि आचार्य भने पुरानै समूहमा बसेर अहिले नेविसंघको उम्मेद्वार बनेका हुन्। 

उनले उम्मेद्वार बनेकोमा खुसी व्यक्त गर्दै नेविसंघको अधिवेशनबाट नेतृत्वमा स्थापित हुने पनि दावी गरे। ‘म आधिकारिक रुपमा अब अध्यक्षको उम्मेद्वार बने अब प्रतिस्पर्धाबाट नै नेतृत्व चुनिन्छ भन्ने विश्वास पनि लागेको छ’ आचार्यले भने, ‘अब नेविसंघको समग्र नेतृत्वमा स्थापित हुन सक्छु भनेर आत्म विश्वासका साथ अघि बढेको छु।’ 

नैनसिंह महर 

सभापति शेरबहादुर देउवाको प्यानलबाट जीतजंग बस्नेतलाई अध्यक्षको उम्मेद्वार बनाउने लगभग निश्चित भएको थियो। उनको महामन्त्रीमा त्रिचन्द्र क्याम्पस स्वियुका पूर्वसभापति सरोज थापालाई बनाउने एकप्रकारको समझदारी पनि भएको थियो। तर नेविसंघमा को उम्मेद्वार बनाउँदा बलियो हुन्छ भन्दै देउवा पक्षको एउटा समूहले विद्यार्थीहरुसँग गोप्यरुपमा जनमत संकलन थाल्यो। 

त्यो समुहले पहिलो जनमतमा मनोजमणि आचार्य दोस्रोमा नैनसिंह महर र तेस्रो नम्बरमा मात्र जितजंग बस्नेत छन् भन्ने ब्रिफिङ देउवा पक्षलाई गर्यो । नेता विमलेन्द्र निधि तथा सभापति देउवालाई पनि ब्रिफिङ भएपछि त्यो पक्षले पुन समीक्षा गर्योि। सोमबार साँझ नेताहरुको बैठक बस्यो। नेताहरुबीच नै को बलियो भन्नेमा विवाद भए। तर अन्त्यमा जनमतलाई प्राथमिकता दिएर उम्मेद्वार बनाउदा सिटौला समूहको सहयोग लिएर चुनाव जित्न सकिने निश्कर्षसहित नैनसिंहलाई उम्मेद्वार बनाउने निर्णय गरियो। 

‘अब आधिकारिक रुपमा उम्मेद्वार भइएको छ यो मेरा लागि खुसीको र संगठनका लागि न्यायको पनि कुरा हो’ नैनसिंह महरले भने, ‘अब सबैको सहयोगमा चुनाव जितेर नेपाल विद्यार्थी संघको अध्यक्ष हुने प्रयासमा लागेको छु।’

 उनले सबैको समर्थन आफूलाई प्रप्त हुने भन्दै त्यही सहयोग र समर्थनबाट अध्यक्ष हुने दावी पनि गरे। अध्ययनशील छवि बनाइसकेका महरले नेपालको शिक्षा नीति र यसका कमजोरी तथा प्रजातन्त्रका विषयमा तीन वटा पुस्तकसमेत लेखिसकेका छन्।

यता सिटौला समूहले भने विवाद नटुंगिदासम्म अधिवेशन नै नहुने भन्दै आफ्नो छुट्टै उम्मेद्वारी दिने वा कुनै समूहसँग एलाइन्स गर्ने भन्ने स्पष्ट भइसकेको छैन। 

‘पहिला त विवादित जिल्लाको विवाद मिल्नुपर्यो त्यसपछि मात्र के गर्ने भन्ने टुंगो लाग्छ’ अध्यक्षका दावेदार कुन्दन काफ्लेले भने, ‘यदि विवाद समाधान नै भएन भने उम्मेद्वारी वा एलाइन्सको के मतलव हुन्छ र?’ काफ्लेले विवाद मिलेपछि आवश्यक निर्णय सार्वजनिक गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell