PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

ज्योतिषलाई शुभ साइत हेराएरै थालिएको एकता प्रक्रिया पनि किन असफल? कमल थापाले दिए कारण



सविन ढकाल

ज्योतिषलाई शुभ साइत हेराएरै थालिएको एकता प्रक्रिया पनि किन असफल? कमल थापाले दिए कारण

काठमाडौँ : आज साउन २५ गते। राप्रपा नेपालका अध्यक्ष कमल थापाको लागि यो दिन इतिहास लेख्ने दिन बन्न सक्थ्यो। संसदमा ३६ सिटसहितको चौथो ठूलो शक्तिशाली दलको नेतृत्व उनको हातमा आउन सक्थ्यो। तर त्यसो भएन। पार्टी एकीकरणको घोषणा हुने समयमा थापा काठमाडौँको एक होटेलमा पत्रकार सम्मेलन गरेर राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाको बेइमानी सार्वजनिक गर्दै थिए। 

‘राणाले बेइमानी नगरेको भए राणासँग काँधमा काँध मिलाएर राष्ट्रिय सभागृहमा पार्टी एकता भएको घोषणा गरिरहेको हुन्थेँ, थापाले भने, साउन २५ गते पार्टी एकीकरण दिवस मनाउने सोच बनाएको थिएँ। सबै भताभुङग भयो।‘

हिजो दिउँसोसम्म एकताको लागि सबै काम भइरहेको थियो। देशभरका पार्टी कार्यकर्ता राजधानी आउन सुरु पनि भएको थियो। थापा भन्छन्, ‘राणाले एकपक्षीय रुपमा सामान्य शिष्टाचारसमेत याद नगरी प्रेस विज्ञप्ति जारी गरी एकीकरण अवरुद्ध भएको जानकारी गराउनुभयो। एउटा बलियो राष्ट्रिय प्रजातान्त्रिक पार्टीलाई तुहाउने काम भयो।‘ 

शुभ साइत पनि असफल

राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकता हुने चर्चा धेरै समय अघिदेखि चलेको थियो। गएको असार ११ गते साइत नै हेराएर दिनको ठीक १ बजे पार्टी एकताको लागि दुई पार्टीका केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय भएको थापाले बताए। 

साइत अनुसार नै दुई पार्टीको फरक-फरक ठाउँमा बैठक बस्यो। केन्द्रीय कार्यसमितिले तयार पारेको नीति र विधान अनुमोदन गर्‍यो। साउन १३ गते पार्टी एकीकरण गर्ने मिति समेत तोकियो । तर त्यतिबेला नै सरकार परिर्वतनको खेल शुरु भयो। 

त्यसपछि केही दिनका लागि राप्रपा अध्यक्ष पशुपति राणा भारत भ्रमणमा गए। भारतबाट फर्कँदा देशमा राजनीतिक परिस्थिति नै बेग्लै भइसकेको थियो। थापा भन्छन्, ‘उहाँ भारतबाट फर्केपछि तत्कालीन अध्यक्ष लोकेन्द्रबहादुर चन्दलाई ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब दिन थाल्नुभयो। राणाले पार्टीको निर्णय विपरीत एकलौटी ढंगले सरकारको सर्मथन फिर्ता लिनुभयो। जब उहाँले पार्टीबाट सर्मथन फिर्ता लिनुभयो त्यतिखेर नै पार्टी एकता हुने नहुने भन्ने आशंका जन्मिसकेको थियो।‘ 

सत्ता स्वार्थलाई प्राथमिकता दिँदा एकीकरण टुट्यो 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणाको सत्ता स्वार्थको कारण एकीकरण टुटेको आरोप लगाए।  ओली सरकारलाई दिएको समर्थन राणाले फिर्ता लिए पनि साउन २५ गते पार्टी एकीकरण गर्ने निर्णय भएको थियो। 

दुई अध्यक्ष बीचमा एकीकरणपछि दुई हप्तामा कार्यसमितिको बैठक बस्ने र त्यसपछि सरकारमा जाने नजाने भन्ने बिषय टुङ्गो लगाउने सहमति भएको थियो। 

‘तर हिजो बिहान २४ गते पशुपतिशम्शेर राणाले फोन गरेर भेट्नु छ भन्नुभयो। हामीबीच बिहान भेट भयो। भेटमा उहाँले बडो लाचार भई भन्नुभयो - सरकारमा दुई मन्त्रीको नाम सिफारिश गर्नुपयो भन्नुभयो। म बाध्यतामा परेको छु। उहाँले सोध्नुभयो यसले पार्टी एकतामा कस्तो असर पर्छ? मैले त्यतिखेर नै भनेको थिएँ कि पार्टी एकीकरण कि सत्ता रोज्नुहोस्। त्यसपछि उहाँ निस्कनु भयो, कुनै कल आएन। मैले सम्झेँ उहाँ पार्टी एकीकरणमा हुनुहुन्छ। तर उहाँले साँझतिर जारी गरेको विज्ञप्तिले म चकित परेँ। उहाँले बेइमानी गर्नुभयो, झुट बोल्नुभयो’, थापाले भने।

राप्रपाले जारी गरेको विज्ञप्तिमा अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय भएको उल्लेख छ। तर थापाको दावी छ, ‘अन्तरिम विधान होइन, सत्ता लोभ कारण हो।‘

‘मैले पहिले नै भनेको राप्रपा नेपाल, राप्रपाले नै ल्याएको विधानमा सहमत छ। फेरि विधानमा के समस्या पर्यो‘ र?’, उनको प्रश्न थियो।  

अदृष्य शक्तिको खेल भयो 

पार्टी एकता टुटाउन अदृश्य शक्तिको खेल भएको कमल थापाको भनाई छ। उनले भारततर्फ लक्षित गर्दै केही अदृश्य शक्तिले बन्न लागेको राष्ट्रवादी प्रजातन्त्र पार्टी एकीकरण टुटाएको आरोप लगाए। अहिले देशमा देखिएको अदृष्य शक्तिको खेलले नेपाली जनताको निर्णय गर्ने क्षमता क्षय हुँदै गएको पनि दावी उनले गरे। 

२५ सिट नै पर्याप्त छ 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले रहेको राप्रपा नेपालको २५ सिट नै संविधान संशोधनका लागि निर्णायक भूमिका खेल्नप पर्याप्त रहेको दावी गरेका छन्। ‘यही सिटले एमाले र कांग्रेसलाई दुई तिहाई पुर्या्उन प्रभावकारी भूमिका खेल्न सक्छ,’ उनले भने। 

कांग्रेस र एमाले एक नभएमा राप्रपा नेपालको सहयोग बिना सबै पार्टी एक ठाउँमा रहँदा पनि दुई तिहाई पुग्न सक्ने अवस्था छैन।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell