PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

नेविसंघको प्रतिनिधि विवाद टुङ्गिएको प्रचार, होला निर्वाचन प्रक्रिया सुरु? महाधिवेशनका ७ दृश्य



रमेश वाग्ले

नेविसंघको प्रतिनिधि विवाद टुङ्गिएको प्रचार, होला निर्वाचन प्रक्रिया सुरु? महाधिवेशनका ७ दृश्य

काठमाडौँ : हरेक दुई वर्षमा हुनुपर्ने नेपाल विद्यार्थी संघको महाधिवेशन नौ वर्षपछि गएको आइतबार उद्घाटन भयो। उद्घाटन पछि बन्दसत्र र चुनाव गरी नयाँ नेतृत्व चयन गर्दै अधिवेशन समापन हुनुपर्ने हो। तर उद्घाटन पछिका दुई चरणमा अधिवेशन प्रवेश गर्न पाएको छैन।
 
त्यसो त  प्रतिनिधि विवाद गएराति निर्देशक समितिले टुंग्याएकाे  भनिएको छ। तर अवरुद्ध महाधिवेशन प्रक्रिया सहज रुपमा अगाडि बढ्ने हो कि हैन हेर्न बाँकी नै छ। आज मध्याह्न १२ बजेसम्मका लागि बन्द सत्र स्थगित गरिएको छ।

 कांग्रेसले नेविसंघको विवाद समाधानमा काम गर्न तथा अधिवेशनलाई पार्टीका तर्फबाट सहजीकरण गर्न गठन गरेको निर्देशक समितिका संयोजक डाक्टर प्रकाशशरण महतले यसअघि मंगलबार दिउँसो दुई बजेसम्म बन्दसत्र स्थगित गर्न निर्देशन दिएका थिए। ११ जिल्लामा देखिएको विवाद समाधानका लागि समय आवस्यक भएको भन्दै थप २४ घण्टा समय लिएर बन्द सत्र जान सकिने भन्दै उनले निर्देशन दिएका थिए। नेविसंघले त्यही अनुरुप सूचना जारी गरेर बन्दसत्र स्थगित गर्यो।
 
मंगलबार दिउँसो दुई बजेदेखि बन्दसत्र सुरु हुने भन्दै प्रतिनिधिहरु भृकुटीमण्डप परिसरमा भेला भए। तर विवाद समाधान हुन सकेन र अधिवेशन पुनः बुधबार मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भयो। 

स्थगित भएपछि कस्तो रह्यो भृकुटीमण्डप ?

प्रतिनिधि निषेधित क्षेत्र बन्यो बन्दसत्र स्थल

गत आइतबार भृकुटी मण्डपमै उद्घाटन भएको नेविसंघ महाधिवेशनका लागि बन्दसत्र पनि भृकुटीमण्डपकै प्रदर्शनी हलमा राखिएको थियो। तर बन्दसत्रमा विधान र नीति सिद्धान्तको बहस गर्नुपर्ने त्यो थलो मंगलबार निषेधित क्षेत्र थियो। ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले भृकुटीमण्डपको बाहिरी गेटबाट नै प्रतिनिधिहरुलाई प्रवेशमा रोक लगाएका थिए।

प्रदर्शनीहलमा स्टेजसहितको व्यवस्था

भृकुटीमण्डपको प्रदर्शनी हलमा स्टेजसहित कुर्सीहरुसमेत मिलाएर राखिसकिएको छ। तर नेताहरुमा विवाद मिलाउने नाममा भागबण्डा मिल्न नसक्दा बन्दसत्र सुरु हुने नहुने समेत टुंगो लाग्न नसक्दा अधिवेशन अन्योलमा थियो। सुरक्षाका दृष्टिले पनि सचेत हुँदै प्रदर्शनी हलमा प्रवेश गर्ने ठाउँमा दुईवटा मेटल डिटेक्टर गेट राखिएको छ। तिनै दुईवटा गेटबाट प्रतिनिधिहरु प्रवेशको प्रवन्ध मिलाइएको छ।


तीन दिनदेखि २५ सय सुरक्षाकर्मी

नेविसंघ अधिवेशनमा बल प्रयोगका घट्ना हुन नदिन र गलत मनसायबाट आएकाहरुलाई नियन्त्रका लागि नेपाल प्रहरीले साढे दुई हजार प्रहरी परिचालन गरेको छ। ती प्रहरी पनि स्टेन्ड बाई बसिरहेका छन्।

भिडभाड हुने क्षेत्र सुनसान, प्रचारका व्यानर मात्र भृकुटीमण्डपमा 

उद्घाटनको केही दिन अघिदेखि नै भृकुटीमण्डप क्षेत्रमा मेला नै लागेको थियो। नेताहरुका भेटघाट स्थल, सम्पर्क कार्यालय सबै रहेको क्षेत्रमा अहिले कसैको पनि प्रवेश छैन। त्यसैले अहिले भृकुटीमण्डप क्षेत्रमा उम्मेद्वारका प्रचारका व्यानर मात्र देख्न सकिन्छ। 

दिनभर विभिन्न समूहका प्रदर्शन

भृकुटी मंण्डप परिसरमा प्रवेश निशेध गरिएकाले विद्यार्थी संघका प्रतिनिधि नेताहरु र त्यसबारे चासो राख्ने सबैको केन्द्र बनेको थियो- प्रदर्शनी मार्ग। त्यहाँ सार्वजनिक तथा निजी सवारी निशेध गरिएको थियो। त्यही सडकमा विभिन्न समुहले आफ्नो समुह लिएर समय समयमा आन्दोललन चर्काए। अध्यक्षका उम्मेद्वार देखि केन्द्रीय सदस्य पदका उम्मेद्वार सम्मले आफ्नो समुह लिएर नारावाजी गर्दै आफ्नो प्रचार र विधिसम्मत रुपमा बन्दसत्र थाल्न माग गरिरहेका थिए। प्रदर्शनमा टिके प्रथा अन्त्य गर्न समयमा अधिवेशनको प्रक्रिया अघि बढाउन पनि माग गरिएको थियो।

कुन्दन समूहलाई लाठी

अधिवेशनमा केही जिल्ला मात्र हैन ६४ जिल्लमा सम्पन्न भइसकेको अधिवेशनका विषयमा समेत प्रश्न उठएर आमरण अनसन समेत गरिरहेको कुन्दन काफ्ले समूह निषेधित क्षेत्रमा समेत अधिवेशन विधिसम्मत गराउन माग गर्दै प्रवेश गर्न खोजेको थियो। त्यसरी प्रवेश गर्न खोज्दा प्रहीले उनीहरुलाई रोक्ने प्रयास गर्‍यो। भिड र प्रहरीबीच ठेलाठेलको अवस्था आयो। काफ्ले समूहका कसैले पछाडिबाट प्रहरीलाई ढुंगा प्रहार गरे। प्रहरीले लाठिचार्ज गर्यो। र भिड तितरवितर भयो। 

जीतजंगको गाडिसहितको मोटरसाइकल र्‍याली

प्रदर्शनी मार्गका पदमोदय मोड र पर्यटनबोर्ड नजिकको मोडबाट निजी तथा सार्वजनिक दुबैप्रकारका सवारी निषेधित थिए। तर साँझ पाँच बजे जितजंग बस्नेतको व्यानर टाँगिएको स्कोर्पियो गाडि अघि लाएर मोटरसाइकल र्‍याली भयो। र्‍यालीमा जितजंग बस्नेत हाइहाई नेविसंघले के भन्छ, जितजंग बस्नेत ले भन्छ भन्दै पुतलीसडकतर्फ अघि बढेको थियो। 

यी काम जारी रहँदा नेपाली कांग्रेस र उसले गठन गरेको निर्देशक समिति भने आफ्ना भाग सुनिश्चत गरेर भागवण्डा मिलाउन व्यस्त थियो। त्यसरी दिनभर गरेका प्रयास असफल भएपछि दिउँसो दुई बजेका लागि बोलाईएको बन्द सत्रसाँझ पाँच बजे मात्र बुधबार १२ बजेसम्मका लागि स्थगित भएको सूचना सुनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell