
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक-दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको भेटमा नेकपा माओवादी केन्द्रबाट मन्त्रीहरुको नाम टुंगो लागिसकेकाले केही दिनमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका हुन्। मन्त्री छनोटमा आफ्नो पार्टीभित्र कुनै पनि विवाद नरहेको उनले बताए।
उनले यस्तो दाबी गरे पनि मंगलबार बसेको माओवादी बैठकले आफ्नातर्फबाट सरकारमा पठाउने पाँच जना मन्त्रीको टुंगो लगाउन सकेन। सोही बैठकले मन्त्री छान्ने जिम्मा उनैलाई दिइसकेको छ।
नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशनले गर्दा कांग्रेसको तर्फबाट मन्त्रीको नाम आउन ढिलाइ भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन्।
साथै उनले सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने कुरामा अघि बढ्न र भ्रष्टाचार, कालो बजारी नियन्त्रण गर्न सचिवहरुलाई निर्देशन दिइसकेको उनले जानकारी गराए।