
ओलम्पिक इतिहासकै सबैभन्दा सफल खेलाडी अमेरिकी पौडीबाज माइकल फेल्प्सले २१ औं ओलम्पिक स्वर्ण पदक जितेका छन्।
ब्राजिलको रियोमा जारी ओलम्पिकमा फेल्प्सले २ सय मिटर बटरफ्लाई र ४ गुणा २ सय मिटर फ्रिस्टायल रिलेमा स्वर्ण पदक जित्दै ओलम्पिककमा स्वर्ण संख्या २१ पुर्याएका हुन्।
रियो ओलम्पिकमा भने फेल्प्सको यो तेस्रो स्वर्ण हो। यसअघि फेल्प्सले ४ गुणा सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेका थिए।
ओलम्पिकको २० औं स्वर्णका रुपमा २ सय मिटर बटरफ्लाईको स्पर्धा जितेका फेल्प्सले चाड डे क्लोसलाई पछि पारे। २०१२ को लण्डन ओलम्पिकमा क्लोससँग यसै स्पर्धामा पराजित भएको फेल्प्सले स्वर्ण जितेपछिको त्यसैको बदला भन्दै खुसीयाली मनाएका थिए। फेल्प्सले उक्त स्पर्धा १ मिनेट ५३.३६ सेकेण्डमा पूरा गरे।
यस्तै ४ गुणा २ सय मिटर फ्रिस्टायलमा फेल्प्सले कोनर डायर, टोवनले हास र राएन लोच्टेसँग मिलेर टीम युएसएलाई स्वर्ण दिलाए। उनीहरुले ७ मिनेट ०.६६ को समय निकालेका थिए। यो फेल्प्सले ओलम्पिकमा जितेको २१ औं स्वर्ण पदक हो भने समग्रमा २५ औं स्वर्ण पदक हो।
४ गुणा २ सय मिटर फ्रिस्टायलमा फेल्प्सले ओलम्पिकमा स्वर्ण जितेको यो लगातार चौथो पटक हो। सन् २००४ को एथेल्स, २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा पनि फेल्स्ले यस स्पर्धा स्वर्ण जितेका थिए। उक्त स्पर्धामा विश्व कीर्तिमान पनि फेल्प्सकै टीमको नाममा छ।
पाँचौ पटक ओलम्पिक खेल्दै गरेका फेल्प्सलेले अहिलेसम्म २१ स्वर्ण २ रजत र २ कास्य जितिसकेका छन्। सन् २००० को सिड्नी ओलम्पिकमार्फत पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएका फेल्प्सले सिड्नीमा कुनै पदक जित्न सकेका थिएनन्। तर २००४ मा ६ स्वर्ण जितेका फेल्प्सले २००८ मा भाग लिएको ८ वटै स्पर्धामा स्वर्ण जित्दै इतिहास रचेका थिए। यस्तै २०१२ को लण्डन ओलम्पिकमा पनि फेल्प्सले ४ स्वर्ण जितेका थिए।