काठमाडौँ : संसदमा अविश्वासको प्रस्तावमाथि छलफलको क्रममा एमाले नेता माधवकुमार नेपालले तत्कालीन प्रधानममन्त्री केपी शर्मा ओलीले एमाले भन्दा पनि आफ्नो गुटलाई पश्रय दिएको आरोप लगाएका थिए।
कांग्रेसका रमेश लेखकले युवा तथा खेलकुद मन्त्रालय मातहतको युवा परिषदमा एमालेले पार्टीकरण गरेको आरोप लगाएका थिए। लगत्तै बोल्न संसदको रोष्टम पुगेका नेता नेपालले – 'यहाँ पार्टी पनि देखेको छैन। एमाले पनि छैन त्यहाँ। भए त म एमाले भनिहाल्थेँ। गुट छ त्यहाँ गुट। व्यक्ति होइन प्रवृति छ' भनेका थिए।
अविश्वासको प्रस्तावमाथि जवाफ दिने क्रममा ओलीले केही साथीहरु प्रतिपक्षी भन्दा पनि कडा रुपमा प्रस्तुत हुनुभयो भन्दै नेता नेपाललाई घुमाउरो शैलीमा जवाफ दिएका थिए।
प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक सञ्चारकर्मी फेस गर्न पार्टी कार्यालय आएका अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारले के अब अनुशासनको कारवाही गर्नुहुन्छ भनेर सोधेका थिए।
जवाफमा ओलीले माधव नेपाललाई इङ्गित गर्दै उनको धारणालाई 'टङ्ग स्लिप' को रुपमा लिएको बताए। नेता नेपालले आफ्नो एक अन्तर्वार्तामा आफ्नो टङ्ग स्लिप भएको स्वीकार गरेका थिए।
ओलीले पत्रकार सम्मेलनमा भने - टङ्ग स्लिप भएको कुरा सुनिसक्नु भयो। स्लिप भयो भन्दैमा टङ्ग समाउने? साना तिना अल्झन हुन्, यस्तो बेलामा भन्ने छ।'