
काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजीभन्दा बढी कोकिन बरामद गर्यो। कोकिन सहित समातिएकी महिला ३२ वर्षिया थाई नागरिक बारान्या काएपिकुल थिइन्।
काठमाडौंबाट मलेसियाको राजधानी क्वालालाम्पुर हुँदै उक्त कोकिन थाइल्यान्ड पुर्याउने योजना थिइन् उनी तर सफल भइनन्।
उनीसँगको अनुसन्धानपछि प्रहरीले बुधबार बिहान सबेरै नक्सालबाट बोलिभियन महिला रोस्सी गुएड्डीलाई पनि नियन्त्रणमा लियो। उनी नेपालबाट संकलित कोकिन कारोबारीलाई उपलब्ध गराउने गर्थिन्। बारान्यालाई पनि उनैले कोकिन दिएको प्रहरी अनुसन्धानले देखाएको छ। ३ केजी ५४ दशमलव ५ ग्राम रहेको उक्त कोकिनको अनुमानित मूल्य ६ करोड १० लाख रहेको प्रहरीको भनाइ छ।
नेपाल मुख्य ट्रान्जिट
.jpg)
कोकिनको खपत युरोपियन र अमेरिका जस्ता समृद्ध मुलकमा बढी हुने गरेको छ। नेपालमा खपत नभए पनि कारोबारीले नेपाललाई ट्रान्जिट बनाएर विभिन्न देशमा सप्लाई गर्ने गरेका छन्।
'कारोबारीले लामो रुटमार्फत विभिन्न देश हुँदै अमेरिकी र युरोपियन मुलुकमा पुर्याउने गरेका छन्,' डिआइजी चन्द भन्छन्, 'यसरी पक्राउ पर्नेहरु त एक प्रतिशत पनि होइनन्। ठूलो मात्रामा कारोबार भइरहेको छ।'
अन्य देशको तुलनामा सजाय कम र सुरक्षा व्यवस्था कमजोर भएकाले पनि नेपाल लागुऔषधको ट्रान्जिट बन्दै आएको छ। नेपालबाट फर्किंदा सुरकीको आधारमा पक्राउ गर्नुभन्दा विमानस्थलबाट लागुऔषध भित्रनै नदिने प्रणालीको विकास गरेमात्र कारोबार रोक्न सकिने चन्दले बताए।
विमानस्थलको कमसल चेकजाँच

विदेशबाट लागुऔषध कति मात्रामा भित्रिइरहेको छ भन्ने यकिन तथ्यांक नेपाल प्रहरीसँग नै छैन। कारोबारीले सजिलै नेपालको विमानस्थलबाट लागुऔषध भित्राउन सक्छन्। डिआइजी चन्दका अनुसार यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमै नेपाल भित्रिएका सामानहरु चेकजाँच गर्ने आधुनिक उपकरण छैन। यात्रुले ल्याएको लगेजमा के छ भन्ने देखिँदैन।
विमानस्थलको भन्सार विभागमा प्रहरीको चेकिङ नभएकाले पनि सहजै लागुऔषधी भित्रिने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। 'विशेष सूचना पाएको बेला मात्र हाम्रो सक्रियता र चेकजाँच हुन्छ,' चन्दले भने।
लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलको भन्सार विभागमा प्रहरीले चेकपोस्ट राख्न पहल गरे पनि अहिलेसम्म राख्न सकेको छैन।
प्रहरीले अहिलेसम्म ठूलो मात्रामा बरामद गरेको लागुऔषध त नेपालबाट बाहिर लैजान लागिएको अवस्थामा बरामद गरिएको मात्र हो। नेपाल भित्रिएपछि स्थल मार्ग हुँदै भारत र चीनसम्म लागुऔषध पुर्याउने गरेको तथ्य प्रहरीसँग छ।
सञ्जालमा विदेशी नै सक्रिय
नेपालमा पछिल्लो समय कोकिन कारोबारीको सञ्जाल फैलँदै गएको देखिन्छ। जसमा विदेशीहरु पनि सक्रिय रुपमा लागिपरेका छन्। माथिको यही घटनाले पुष्टि गर्छ।कोकिनको कारोबारमै संलग्न १४ विदेशी नागरिकलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।
ब्युरोले पहिलो पहिलो पटक २०६८ पुस २० गते १ केजी कोकिन फेला पारेको थियो। त्यसयता हालसम्म बरामद गरिएको कोकिनको परिमाण २४ केजी पुगिसकेको छ।
करिब पाँच वर्षको अवधिमा प्रहरीले १२ हजारभन्दा बढी व्यक्तिलाई लागुऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ। यसरी पक्राउ पर्नेमा करिब ५० जना विदेशी समेत रहेका छन्।
प्रहरीका अनुसार नेपालमा कोकिनको माग छैन। एक केजी कोकिनको मूल्य अन्तर्राष्ट्रिय 'ब्ल्याक मार्केट'का दुई करोडसम्म पर्छ। कुनै पनि व्यक्तिले लिने एक डोजको मूल्य पनि कम्तीमा २५ हजारदेखि ३५ हजारसम्म पर्ने गरेको छ।
'अति महँगो हुने भएकाले पनि हाम्रो जस्तो मुलुकमा यसको माग भएको देखिँदैन,' लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्द बताउँछन्।