PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

नेविसंघको बन्दसत्र गर्न हलै पाइएन, तोडफोडको डरले पार्टी कार्यालय दिइएन



रमेश वाग्ले

नेविसंघको बन्दसत्र गर्न हलै पाइएन, तोडफोडको डरले पार्टी कार्यालय दिइएन

काठमाडौँ : आइतबार उद्घाटन भएर स्थगित भएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघको महाधिवेशन अझै अन्योलमा छ। प्रतिनिधि विवादमा नेताहरुको चासोका कारण स्थगित महाधिवेशन हल नभएका कारण बन्दसत्र नै नगरी चुनावी प्रक्रियाको तयारीमा छ।

'आजै साँझसम्म निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गर्छ, भोलि बिहानदेखि मनोनयन दर्ताको तालिका बनाएका छौँ' नेविसंघ प्रवक्ता युपी लामिछानेले भने,'पर्सि बिहान (साउन २९ गते) मतदान कार्यक्रम हुने तालिका निर्वाचन समितिले बनाएको छ।'

नेविसंघ महाधिवेसनमा बन्दसत्र हुँदैन? भन्ने प्रश्नमा प्रवक्ता लामिछानेले 'हल भयो भने बन्दसत्र पनि हुन्छ' भन्ने जवाफ दिए।

नेपाल विद्यार्थी संघले संगठनलाई बढी समावेशी र प्रतिनिधिमूलक बनाउन ६८ सदस्यीय कार्यसमितिको आकार बढाएर १५१ सदस्यीय कार्यसमिति हुनेगरी विधान संशोधन गरेको छ भने तेस्रो लिंगीलाई पनि प्रतिनिधित्व गराउने व्यवस्था विधानमा गरेको छ।

तर पार्टीको निर्देशक समितिले अनुमोदन गरेको त्यो विधान संगठनको हकमा बन्दसत्रले अनुमोदन गरेपछि मात्र लागू हुन्छ।  तर विधानलाई वैधानिकता दिन बन्दसत्र राख्ने हल समेत नहुँदा नेविसंघ अप्ठेरोमा छ।

पार्टी कार्यालय तोडफोड हुन्छ भन्दै दिइएन

नेविसंघले भृकुटीमण्डपको हल  साउन २३ देखि २५ सम्मका लागि भाडामा लिएको थियो। तर साउन २३ गते उद्घाटन सकिएसँगै अधिवेसन अन्यौलमा परेपछि २६ गतेसम्मका लागि थप गरिएको थियो। २६ गतेसम्म खाली हलको भाडा तिर्नुपर्‍यो।
 
हल हुँदासम्म विवादका कारण बन्दसत्र हुन सकेन भने अब विवाद समाधान भएर हल चाहिँदा भने हलको समय फेरि थप गर्न नमिल्ने बताइयो। त्यसपछि नेविसंघले पार्टी कार्यालय सानेपामा चुनावी कार्यक्रम गर्ने तयारी गरेको थियो। तर मुख्यसचिव कृष्ण पौडेलले पार्टी कार्यालयमा विद्यार्थीहरुले तोडफोड गर्न सक्ने र आफ्नै विद्यार्थीलाई प्रहरी लगाउन गाह्रो हुने बताए। उनको यस्तो भनाईपछि सभापति शेरबहादुर देउवाले अन्यत्रै व्यवस्था गरिदिन निर्देशन दिएका छन् । 

यसका लागि प्रज्ञा भवन बुक गर्न लाग्दा ३० गते खाली नभएको बताइएपछि कहाँ गर्ने भन्ने अन्योल थपिएको छ।

पार्टी कार्यालयमा किन हुँदैन भनेको? भन्ने प्रश्नमा मुख्यसचिव कृष्ण पौडेलले हुँदैन नभनेको बताउँदै दिउँसो 'फिक्स्ड' हुुने बताए।

यस्तो छ कार्यक्रम

आज : मतदाता नामावली निर्वाचन समितिले प्रकाशन गर्ने
साउन २८ गते : उम्मेदवारी दर्ता  
साउन २९ गते : मतदान 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell