PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

तेस्रोलिंगीलाई समेटिने गरी विधान संशोधन, हल उपलब्ध नहुँदा नेविसंघ महाधिवेशन अन्योलमा



रमेश वाग्ले

तेस्रोलिंगीलाई समेटिने गरी विधान संशोधन, हल उपलब्ध नहुँदा नेविसंघ महाधिवेशन अन्योलमा

काठमाडौं : साउन २३ गते उद्घाटन भएर स्थगित भएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं अधिवेशन अझै अन्योलमा छ।
 
प्रतिनिधि विवादमा नेताहरुको चासो र स्थगित महाधिवेशन सञ्चालनका लागि हल नभएका कारण बन्दसत्र नै नगरी चुनावी प्रक्रियाको तयारीमा छ।
 
'आजै साँझसम्म निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गर्छ, भोलि बिहानदेखि मनोनयन दर्ताको तालिका बनाएको छ,' नेविसंघ प्रवक्ता युपी लामिछानेले भने, 'पर्सि बिहान (२९ गते) मतदान कार्यक्रम हुने तालिका निर्वाचन समितिले बनाएको छ।'
 
बन्दसत्रबारे जिज्ञासा राख्दा उनले 'हल उपलब्ध भएमात्र बन्दसत्र गर्न सकिने' जवाफ दिए।
 

तेस्रो लिंगीलाई समेटिने

संघले बढी समावेशी र प्रतिनिधित्वमूलक बनाउन ६८ सदस्यीय कार्यसमितिको आकार बढाएर १५१ सदस्यीय कार्यसमिति हुनेगरी विधान संशोधन गरेको छ भने तेस्रो लिंगीलाई पनि प्रतिनिधित्व गराउने व्यवस्था विधानमा समेटेको छ। तर पार्टीको निर्देशक समितिले अनुमोदन गरेको त्यो विधान संगठनको हकमा बन्दसत्रले अनुमोदन गरेपछि मात्र लागू हुन्छ। विधानलाई वैधानिकता दिन बन्दसत्र राख्ने हल समेत नहुँदा संघलाई अहिले सकस परिरहेको छ। अधिवेशन लम्बिँदा खर्चभार पनि स्वत: बढेको छ।
 

कार्यालय तोडफोडको डर

नेविसंघले भृकुटीमण्डपको हल २३ देखि २५ गतेसम्मका लागि लिएको थियो। तर २३ गते उद्घाटन सकिएसँगै अधिवेशन अन्योलमा परेपछि २६ गतेका लागि थप गरियो।
 
हलको बुक फेरि थप गर्न नमिल्ने बताइएपछि नेविसंघले पार्टी कार्यालय सानेपामा चुनावी कार्यक्रम गर्ने तयारी गरेको थियो। तर मुख्यसचिव कृष्ण पौडेलले पार्टी कार्यालयमा विद्यार्थीहरुले तोडफोड गर्न सक्ने र आफ्नै विद्यार्थीलाई प्रहरी लगाउन गाह्रो हुने बताएपछि सभापति शेरबहादुर देउवाले अन्यत्रै व्यवस्था गरिदिन निर्देशन दिएका छन्।
 
पार्टी कार्यालयमै हुन सक्ने/नसक्नेबारे दिउँसोसम्ममा टुंगो लाग्ने पौडेलको भनाइ छ।
 
यता प्रज्ञा प्रतिष्ठानको हल बुक गर्न लाग्दा ३० गते खाली नभएकाले अन्योल थपिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell