PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

ओलम्पिक फुटबल : ब्राजिल क्वाटरफाइनलमा, साबिक विजेता मेक्सिको र अर्जेन्टिना बहिरिए



पहिलोपोस्ट

ओलम्पिक फुटबल : ब्राजिल क्वाटरफाइनलमा, साबिक विजेता मेक्सिको र अर्जेन्टिना बहिरिए

आयोजक ब्राजिल रियो ओलम्पिक फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

यसअघिका दुई खेलमा गोलरहित बराबरी खेलेको ब्राजिल समूह चरणको अन्तिम खेलमा डेनमार्कलाई ४-० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा पुगेको हो।
 
३ खेलबाट ५ अंक जोडेको ब्राजिल समूह एको विजेता बन्यो। ब्राजिललाई शानदार जित दिलाउन गाब्रिएलले २ तथा गाब्रिएल जेसस र लेअनले १-१ गोल गरे।
 
हारका बाबजुद पनि ३ खेलबाट ४ अंक जोडेको डेनमार्क समूह एको उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। समूहकै अर्को खेलमा इराक र दक्षिण अफ्रिकाले १-१ गोलको बराबरी खेलेपछि डेनमार्कलाई फाइदा पुगेको हो। ३ वटै खेल बराबरी खेलेको इराकको ३ तथा दक्षिण अफ्रिकाको २ अंक मात्र छ।
 
ब्राजिल क्वाटरफाइनलमा पुग्दा डिफेन्डिङ च्याम्पियन मेक्सिको र २ पटकको च्याम्पियन अर्जेन्टिना समूह चरणबाटै बाहिरिएका छन्।
 
समूह सीको खेलमा दक्षिण कोरियासँग १-० ले हारेपछि मेक्सिको समूह चरणबाटै बाहिरिएको हो। मेक्सिकोलाई समूह चरणबाटै घर पठाउन कोरियाका लागि चाङ हुन कोवनले निर्णायक गोल गरे। ३ खेलबाट ७ अंक जोडेको कोरिया समूह विजेता बनेको छ।
 
समूह सीकै अर्को खेलमा फिजीलाई १०-० ले पराजित गरेको जर्मनी ५ अंक सहित उपविजेता बन्यो।
 
जर्मनीलाई फराकिलो जित दिलाउन निल पिटरसन एक्लैले ५ गोल गरे। यस्तै म्याक्स मेयरले ह्याट्रिक पूरा गर्दा सर्जी गनवरीले २ गोल गरे।
 
होण्डुरससँग बराबरीमा रोकिएपछि अर्जेन्टिना पनि समूह चरणबाटै बाहिरिएको छ। जित्नैपर्ने खेलमा सन् २००४ र २००८ को स्वर्ण विजेता अर्जेन्टिना १-१ गोलको बराबरीमा रोकियो। अर्जेन्टिनालाई बराबरीमा रोकेपछि होण्डुरस समूह डीबाट उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ। यस समूहबाट ७ अंक जोडेको पोर्चुगल समूह विजेता बनेको छ। अन्तिम खेलमा पोर्चुगलले अल्जेरियासँग १-१ गोलको बराबरी खेलेको छ।
 
समूह बीबाट नाइजेरियासँगै कोलम्बिया पनि क्वाटरफाइनलमा पुगेको छ। यसअघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको नाइजेरियालाई २-० ले हराउँदै कोलम्बिया पनि अन्तिम ८ मा पुगेको हो। कोलम्बियाको जितमा टोफिलो गुटेइरेज र डोर्लान पाबोनले १-१ गोल गरे।
 
हारका बाबजुद पनि ३ खेलबाट ६ अंक जोडेको नाइजेरिया समूह विजेता बनेको छ भने ५ अंक जोडेको कोलम्बिया उपविजेता बन्यो। अर्को खेलमा स्वीडेनलाई जापानले १-० ले हरायो।
 
समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भइसकेको छ। क्वाटरफाइनलका सम्पूर्ण खेलहरु आगामी शनिबार हुनेछन्।
 

क्वाटरफाइनल समीकरण
  • ब्राजिल भर्सेस कोलम्बिया
  • दक्षिण कोरिया भर्सेस होण्डुरस
  • नाइजेरिया भर्सेस डेनमार्क
  • पोर्चुगल भर्सेस जर्मनी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell