PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

प्रधानमन्त्रीका विशेष दूतका रुपमा निधि भारत र महरा चीन जाने



मनोज सत्याल

प्रधानमन्त्रीका विशेष दूतका रुपमा निधि भारत र महरा चीन जाने

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले नेपालको बदलिँदो राजनीतिक परिस्थिति लगायतका घटनाक्रमबारे जानकारी दिन दुई उपप्रधानमन्त्रीलाई दुई छिमेकी देशमा पठाउने निर्णय गरेको छ। 

प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय भएको मन्त्री दीपक बोहोराले पहिलोपोस्टलाई जानकारी दिए।  

नेपालमा सत्ता परिवर्तन भएपछि यो पहिलो सरकारी भ्रमण हुनेछ। चीनका राष्ट्रपति नेपाल आउने तयारीमा छन् भने भारतले पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रधानमन्त्री निर्वाचित भएकै दिन भारत भ्रमणका लागि निम्तो दिइसकेको छ। दुई उपप्रमको भ्रमण आसन्न भ्रमणको तयारीमा पनि लक्षित हुनेछ।  

बैठकले महँगी र कालोबजारी नियन्त्रणका लागि आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता उपप्रम महराले जानकारी दिए। 

बैठकले मिसावट, कालोबजारी र कृत्रिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाई गर्नका लागि ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ।

सरकार विस्तारबारे सोधिएको प्रश्नको जवाफमा महराले 'चाँडै हुने' जानकारी दिए। 

पोर्टफोलियोको टुङ्गो

यसैबीच बिना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका राप्रपाका दीपक बोहोरा र विक्रम पान्डेलाई मन्त्रालयको टुङ्गो लगाइएको छ। बोहोरालाई आपूर्ति मन्त्रालयको कार्यभार दिइएको छ भने पान्डेले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell