
ओलम्पिक लगायत अन्य ठूला प्रतियोगितामा च्याम्पियन बनेपछि धेरैजसो खेलाडीले आफ्नो मेडललाई टोक्ने गरेका छन्।
आखिर किन यसो गरेका होलान्? यसको गजबको कारण छ।
ब्राजिलमा जारी ३१ औं गृष्मकालीन ओलम्पिकमा खेलाडीहरुले स्वर्ण पदक जित्न थालिसकेका छन्। उनीहरुले मेडल टोक्दै खुसी व्यक्त गरेका फोटो पनि सार्वजनिक भइरहेका छन्।
इन्टरनेसनल सोसाइटी अफ ओलम्पिक हिस्टोरियन्सका डेविड वालेचिन्स्कीले फोटोग्राफरहरुको आग्रहमै खेलाडीहरुले त्यसरी टोक्ने गरेको बताएका छन्।
'यो फोटोग्राफरहरुको हैरानीले गर्दा हो,' द कम्प्लेट बुक अफ दि ओलम्पिक्सका लेखक समेत रहेका उनले सिएनएनसँग भनेका छन्, 'मलाई लाग्छ, उनीहरुले यसलाई आइकोनिक सटको रुपमा लिन्छन्। जुन सम्भवत: तपाईहरु बिक्री गर्न सक्नुहुन्छ।'
१२ पटककी ओलम्पिक पदक विजेता पौडी खेलाडी नाताली कगलिनको जवाफ पनि उस्तै छ। फोटोग्राफरहरुले नै मेडल टोक्न आग्रह गर्ने गरेको उनले बताइन्। उनले एनबीसीको भिडियोमा भनेकी छिन्, 'त्यसै कारण तपाईंले सबै खेलाडीले मेडल टोकेको देख्नुहुन्छ। हामी अगाडि देखिन र स्टेजमा आउनका लागि होइन।'
यतिमात्र होइन मेडल टोक्नुको अर्को ऐतिहासिक कारण पनि छ। पहिलेका खेलाडीहरु मेडलको आधिकारिताको लागि टोक्ने गर्थे। शुद्ध सुन हो कि अन्य धातु हो भनेर।
'सुन एकदमै नरम धातु हो, दाँतको इनामेलभन्दा पनि,' टुडे आई फाउण्ड आउट इटको भिडियोमा सिमोन ह्विट्सलरले भनेका छन्, 'मेडल साँच्चिकै शुद्ध हो भने त्यसलाई टोक्दा त्यहाँ अलिकति दाँतको डोब बस्छ।' यसले खेलाडीलाई गोल्ड मेडल शतप्रतिशत सुन नै हो वा बाहिर लेप लगाएको मात्र हो भनेर छुट्याउन सजिलो हुने उनी बताउँछन्।
सन् १९१२ यता ओलम्पियकको गोल्ड मेडल शतप्रतिशत सुनबाट बनेको छैन। तर मेडलको बाहिर भने २४ क्यारेटकै लेप लगाउने गरिएको छ।
मेडलमा कति प्रतिशत सुन?

मेडलमा कति प्रतिशत सुन राख्ने भन्ने हरेक ओलम्पिक अनुसार फरक-फरक हुन्छ।
ब्राजिलमा भइरहेको यस पटकको ओलम्पिकको गोल्ड मेडलमा १ दशमलव ३४ प्रतिशत अर्थात् ६ ग्राम मात्र सुन राखिएको छ। बाँकी करिब ९३ प्रतिशत सिल्भर र ६ प्रतिशत कपर राखिएको छ।
ओलम्पिक मेडल संकलनकर्ता जिम ग्रिनसफेल्डरका अनुसार दुई विश्वयुद्धपछि गोल्ड मेडलमा सुनको मात्र घट्दै जान थालेको हो। सन् १९०४, १९०८ र १९१२ को ओलम्पिकमा मात्र शुद्ध सुनबाट मेडल बनाइएको थियो। त्यसपछि भने यसको आकार समेत घट्दै आएको छ।
कसरी बनाइन्छ मेडल? हेर्नुस् भिडियोमा-