PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

'मिडिया' र 'कहर' अब एपमै पढ्न सकिने, प्रिन्टमा भन्दा ५० रुपैयाँ सस्तो



पहिलोपोस्ट

'मिडिया' र 'कहर' अब एपमै पढ्न सकिने, प्रिन्टमा भन्दा ५० रुपैयाँ सस्तो

काठमाडौं : प्रकाशन संस्था 'वी रिड'ले पत्रकार किशोर नेपालको 'मिडिया सिद्धान्त, सूत्र र प्रयोग' र जनकराज सापकोटाको 'कहर' पुस्तकको डिजिटल संस्करण एकसाथ आज सार्वजनिक गरेको छ।
 

वी रिडको एपमार्फत ती पुस्तकको डिजिटल संस्करण लेखकद्वयले नै सार्वजनिक गरेका हुन्।
 
'मिडिया'मा नेपाली पत्रकारिताको इतिहास, विकासक्रम, सिद्धान्त लगायतका विषय समेटिएको छ भने कहरमा वैदेशिक रोजगारीको प्रभाव र समाजमा देखिने यसको अँध्यारो पक्षको चित्रण छ। वी रिडले प्रकाशन गरेको दुवै पुस्तक भने यसअघि नै सार्वजनिक भइसकेका हुन्।
 
डिजिटल संस्करणको विमोचनमा बोल्दै पत्रकार नेपालले आफ्नो लामो समयको अनुभवलाई नै पुस्तकमा रुपमा ल्याएको स्पष्ट पारे। पत्रकारको न्युनतम पारिश्रमिक र योग्यता परीक्षणका लागि प्रेस काउन्सिलले लिने भनिएको परीक्षाबारे भने उनले असन्तुष्टि जनाए।

नेपालमा इन्टरनेटको गडबडीका कारण समस्या भोग्नुपरिरहेको अवस्थामा एपमार्फत पुस्तक बिक्रीको जोखिम मोलेकोमा उनले प्रकाशकलाई धन्यवाद दिए।   
 
कहरका लेखक सापकोटाले पुस्तकमा अँध्यारो पाटोमात्र भएकाले 'एकपक्षीय' लागेको भन्ने केही पाठक पाएको बताए। ‘वैदेशिक रोजगारीको नाममा दैनिक २५ लाख ठगी भइरहेको छ, दैनिक औसत चार वटा शव भित्रिरहेका छन्,' उनले भने, 'वैदेशिक रोजगारमा गएकाहरु पनि अनेक समस्यामा छन्। कोही अंगभंग भएका छन् त कोही जेलमा बस्न बाध्य छन्, यस्तो अवस्थामा म कसरी सुखद कथा लेख्न सक्छु?'
 
प्रकाशक राजीवधर जोशीले तीन वर्षको योजनापछि एप तयार भएको जानकारी दिँदै पुस्तक नपुग्ने ठाउँलाई लक्षित गरी यो अवधारणा ल्याइएको बताए। 'एपमा पुस्तक राखेर विश्वबजारमा  पुर्‍याउने उद्देश्य पनि हो,' उनले प्रस्ट्याए, 'किताब बोक्ने झन्झट पनि नहुने र मोबाइलबाटै पढ्न सकिने भएकाले प्रविधिको युगमा सहज बन्दै जाने अपेक्षा गरेका छौं।'
 
वी रिडले प्रकाशन गरेका र अन्य नौ वटा प्रकाशकहरुका करिब तीन सय पुस्तक एपमा राखिसकिएको छ। 'कतिपय प्रकाशकले नि:शुल्क पनि राखिदिएका छन्, त्यसलाई पैसा नतिरी पढ्न सकिन्छ,' जोशीले डिजिटल मूल्यबारे प्रष्ट पारे, 'प्रिन्ट संस्करणभन्दा यसमा ५० रुपैयाँ कममै पाइन्छ।'

अहिलेसम्म वी रिड एप २० हजारभन्दा बढी डाउनलोड भइसकेको छ। अमेरिका, बेलायत, अस्ट्रेलियाबाट एपमार्फत नै पुस्तक पढ्नेहरुको संख्या बढी रहेको जोशीले बताए।

डिजिटल भर्सन पढ्न चाहनेले आइओएस र एन्ड्रोइड सिस्टमका स्मार्टफोनमा वी रिडको एप डाउनलोड गर्न सक्नेछन्। एपमार्फत नै नेपालमा इसेवा र विदेशका लागि पेपालमा पैसा तिरेर पुस्तक पढ्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell