PahiloPost

May 15, 2025 | २ जेठ २०८२

फुटसल प्रिमियर लिग छनोटमा ३४ टोली, १६ टोलीले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

फुटसल प्रिमियर लिग छनोटमा ३४ टोली, १६ टोलीले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्ने

काठमाडौं : नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशी रहेको फुटसल प्रिमियर लिगको छनोट चरणमा ३४ वटा फुटसल क्लबले भाग लिने भएका छन्। 

आयोजक एएमए इभेन्टस प्रालिले बिहीबार गरेको पत्रकार सम्मेलनमा क्लबका प्रतिनिधिको उपस्थितिमा खेल तालिका समेत सार्वजनिक गरिएको छ। प्रिमियर लिगमा सहभागी क्लबलाई ७ समूहमा विभाजन गरिएको छ। छनोट चरणबाट छानिएका उत्कृष्ट १६ टोलीले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्नेछन्। 

छनोट चरणबाट प्रत्येक समूहको विजेता र उपविजेता प्रिमियर लिगको फाइनल राउण्डको लागि छनोट हुनेछन। यस्तै ७ समूहको तेस्रो स्थानमा रहने मध्ये उत्कृष्ट २ टोलीले पनि फाइनल राउण्डकाका लागी छानिने प्रतियोगिता संयोजक विवेक गौतमले जानकारी दिए। 

प्रतियोगिताले नेपालमा फुटसलको लोकप्रियतालाई बढाउने संयोजक गौतमले बताए। गौतमले प्रतियोगिता सम्पन्न गर्न विभिन्न चुनौती रहे पनि आफूहरु फुटसल प्रिमियर लिगलाई नेपालको नम्बर एक प्रतियोगिता गराउने लक्ष्य लिएर अगाडि बढेको बताए। यसले आगामी दिनमा नयाँ खेलाडीलाई फुटसल खेल्न उत्साह र प्रेरणा दिने विश्वास पनि उनले व्यक्त गरे। 


बानेश्वर रिक्रिएसन सेन्टरमा हुने छनोट प्रतियोगिता भदौ १ देखि ५ गतेसम्म चल्नेछ। छनोटबाट छानिएका १६ टोलीलाई २ समूहमा विभाजन गरेर होम एन्ड अवेको आधारमा फाइनल राउण्डमा प्रतिस्पर्धा गराइनेछ। फाइनल राउण्डसम्म १ सय १२ खेल हुने आयोजकले जानकारी गराएको छ।

प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख पाउनेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले पनि जनही ५० हजार पाउने आयोजकले बताएको छ। 

(फोटो : फुटसल प्रिमियर लिगको फेसबुकबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell