PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पत्रकार लाइसेन्स परीक्षा 'नाटक', एकाधिकारतिर लैजान्छ : किशोर नेपाल



फणीन्द्र संगम

पत्रकार लाइसेन्स परीक्षा 'नाटक', एकाधिकारतिर लैजान्छ : किशोर नेपाल

काठमाडौं : पत्रकारको योग्यता तोक्नका लागि प्रेस काउन्सिलले केही दिनअघि ‘पत्रकारको योग्यता परीक्षणसम्बन्धी प्रतिवेदन’ सार्वजनिक गर्‍यो। पत्रकार हुनका लागि लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। यो प्रतिवेदन आएलगत्तै सञ्चार जगतमा विभिन्न बहस र प्रश्नहरु उठिरहेका छन्।

  • मिडिया हाउसले परीक्षा लिने कि काउन्सिलले?
  • परीक्षा उत्तीर्ण नगरे सो पत्रकारको जागिर चैट हुने कि नहुने?
  • पत्रकारिता नै पढेर आएकाहरुले परीक्षा दिनुपर्ने किन नपर्ने?
  • मिडिया हाउसलाई थप पत्रकार आवश्यक भए उसैले योग्यता र क्षमताको परीक्षा लिन पाउने कि नपाउने?

यस्तै प्रश्नहरु उठिरहँदा पत्रकार तथा लेखक किशोर नेपालले भने काउन्सिलको परीक्षालाई 'लोकसेवा'सँग दाँज्दै व्यंग्य गरेका छन्।

केही समयअघि प्रकाशित नेपालको पुस्तक 'मिडिया सिद्धान्त सूत्र र प्रयोग'को डिजिटल संस्करण सार्वजनिक गर्दै आज उनले काउन्सिलको तयारीबारे असन्तुष्टि जनाए।

'अब लोकसेवाको जाँच दिएजस्तो जाँच दिनुपर्ने व्यवस्था हुन लागिसक्यो,' उनले भने, 'यहाँ धेरै खालका नाटकहरु भइरहेका छन्। तपाईंहरुले यो घटनाक्रमलाई नियाल्नुहोला/बुझ्नुहोला। कतै हामी एकाधिकारतिर त गइरहेका छैनौं?'

अहिलेको नेपाली पत्रकारिता एकदमै विसंगत अवस्थामा गुज्रिरहेको भन्दै उनले न्युनतम पारिश्रमिकले पत्रकारहरुलाई झनै संकटमा पुर्‍याएको बताए। 'एकातिर हामी ठुल्ठूला गफ गर्छौं अर्कातिर १९ हजार ५ सय नदिन मिडिया हाउसका मालिकहरु नै लागिपर्छौं,' उनले भने, 'काठमाडौंमा बसेर यो पैसाले के हुन्छ? कोठाभाडा तिर्ने कि, परिवार पाल्ने कि मोटरसाइकल कुदाउने?'

तोकिएको न्यूनतम पारिश्रमिक पनि हदै न्युन भएको भन्दै उनले चिन्ता व्यक्त गरे।

सम्पादकीय स्वतन्त्रताबारे चर्चा गर्दै उनले नेपालमा सम्पादकको चलन भए पनि अस्तित्वमा नरहेको दाबी गरे। 'न्युयोर्क टाइम्समा पनि सम्पादक, प्रधान सम्पादक भन्ने छैन। एक्जुकेटिभ एडिटर, म्यानेजिङ एडिटर भन्ने राखिन्छ,' उनले प्रस्ट पारे, 'हामीकहाँ कर्पोरेट हाबी हुँदा सम्पादकको अस्तित्व नै छैन।' 

प्रकाशक वी रिडले नै एपमार्फत पढ्न सकिने गरी 'मिडिया'को डिजिटल संस्करण पनि ल्याएको हो। 

इन्टरनेटले बेलाबेला दु:ख दिइरहने भए पनि एपमार्फत् पुस्तक बिक्रीको सोच बनाएकोमा लेखक नेपालले प्रकाशकलाई धन्यवाद दिए। 'खुब रमाइलो हुँदो रहेछ डिजिटलमा पनि,' मोबाइलमा एप क्लिक गर्दै उनले ठट्टा गरे, 'अब डिजिटलमा पनि मेरो पुस्तक पढ्नुहोला। 'लोकसेवा' परीक्षा दिनुपर्यो  भने यसबाट पनि केही कुरा काम लाग्लान्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell