PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

दुर्घटना बढेपछि प्राधिकरणको निर्णय, हेलिकोप्टर उडान भर्दा मापदण्ड नअपनाए लाइसेन्स खारेज



पहिलोपोस्ट

दुर्घटना बढेपछि प्राधिकरणको निर्णय, हेलिकोप्टर उडान भर्दा मापदण्ड नअपनाए लाइसेन्स खारेज

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडान भर्दा सुरक्षा मापदण्ड उल्लंघन गरे लाइसेन्स खारेज गर्ने भएको छ।
 
मापदण्ड मिचेर चलाएमा प्राधिकरणले हेलिकोप्टर उडाउने पाइलट र कम्पनीको लाइसेन्स खारेज गर्ने सक्ने निर्णय गरेको हो।

लगातार प्लेन र हेलिकोप्टर दुर्घटना परी ज्यानसम्म जाने स्थिति आएपछि यस्तो निर्णय लिएको प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले बताए। गत सोमबार फिसटेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा क्याप्टेन सहित सात जनाको मृत्यु भएको थियो। 

केसीले प्राधिकरणले केही दिनअघि मात्रै सो निर्णय गरेको र सबै हवाइ कम्पनीहरुलाई पत्राचार गरिसकेको बताए। प्राधिकरणले हेलिकोप्टरका लागि पहिलो पटक यस्तो निर्णय गरेको जनाएको छ।
 
'हवाइ सुरक्षा उल्लङ्घन गरे चालकदल र कम्पनीको लाइसेन्स खारेज गरिनेछ,' उनले भने, 'घटना र सुरक्षाको प्रकृति हेरेर एओसी समेत खारेज वा रद्द गरिनेछ।'
  
प्रधिकरणको नयाँ निर्देशन अनुसार पाइलटले सुरुवातदेखि गन्तव्यसम्मको बीच बाटोको मौसमबारे पूर्ण रूपमा जानकारी लिनुपर्ने व्यवस्था छ। खराब मौसमका कारण उडान गर्न सम्भव भए उडानलाई निरन्तरता दिनु हुँदैन र उपयुक्त कतै ल्याण्ड गरी मौसम सुधार भएपछि मात्र उडान गर्नुपर्ने निर्देशनमा उल्लेख छ। 
 
पाइलटले उड्डयन सुरक्षा मापदण्ड कडा रूपमा पालना गरेको हुनुपर्ने, 'फ्लाइट डिस्प्याचर'ले प्रत्येक उडान योजनाअनुसार बनाएर क्याप्टेनलाई जानकारी गराउनुपर्ने, हेलिकोप्टर सेवा प्रदायकले वर्षायामका सबै उडान गतिविधिको समग्र सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको केसीले बताए।

(फोटो :sunnytravel.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell