
काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको रियो ओलम्पिक–२०१६ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली टोली शुक्रबार रियो प्रस्थान गरेको छ।
अगस्ट ५ देखि ३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक सुरु भए पनि नेपाली तेक्वान्दो टोली भने एक सातापछि मात्र जाँदैछ।
तेक्वान्दोका खेलहरु अगष्ट १७ देखि २० सम्म सञ्चालन हुनेछन्। नेपालकी निशा रावलले ६७ केजीमाथि तौल समूहमा अगष्ट २० मा प्रतिस्पर्धा गर्नेछिन्। छनोट चरण पार गर्न नसकेकी निशा वाइल्ड कार्डमार्फत रियो ओलम्पिकका लागि छानिएकी हुन्।
निशासँगै प्रशिक्षकमा संगीना वैद्य पनि रियो जाँदैछिन्। संगीना नेपालबाट तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने पहिलो खेलाडी हुन्। २००४ को एथेन्स ओलम्पिकमा संगीनाले छनोट चरण पार गर्दै प्रतिस्पर्धा गरेकी थिइन्।
त्यसको अर्को संस्करणमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गर्दै बेइजिङ ओलम्पिक–२००८ मा खेलेका थिए। संगीना र दीपकबाहेक यो उपलब्धि अरु कुनै नेपाली खेलाडीले हासिल गरेका छैनन्।
रियो जाने टोलीलाई राष्ट्रिय तेक्वान्दो खेलाडीहरुले बिहीबार त्रिपुरेश्वरमा बिदाइ गरेका थिए।
यसअघि नेपाली खेलाडीहरु दुई चरणमा रियो गएका थिए। ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली टोलीमा यो अन्तिम टोली हो।