PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

ओलम्पिकमा नेपाल : सरस्वती भट्टराईले शनिबार बिहान १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

ओलम्पिकमा  नेपाल : सरस्वती भट्टराईले शनिबार बिहान १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने

काठमाडौं : ब्राजिलमा जारी रियो ओलम्पिककमा आजबाट एथ्लेटिक्सतर्फका प्रतिस्पर्धा सुरु हुँदैछन्। नेपालबाट पनि एथ्लेटिक्समा दुई खेलाडीले भाग लिँदै छन्।

महिलातर्फ सरस्वती भट्टराईले १५ सय मिटर तथा पुरुषतर्फ हरिकुमार रिमालले ५ हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन्।

सरस्वतीले नेपाली समयअनुसार शनिबार बिहान ५.१५ बजे प्रतिस्पर्धा गर्नेछिन्। उनले हिट चरणमा एक नम्बरको हिटमा अन्य १३ खेलाडीसँगै प्रतिस्पर्धा गर्नेछिन्।

रियोमा सरस्वतीको लक्ष्य व्यक्तिगत समयमा सुधार गर्ने रहेको छ। १२ औं दक्षिण एसियाली खेलकुदमा १५ सय मिटरमा सहभागिता जनाएकी उनले ४ मिनेट ४०.०४ सेकेण्डको समयमा दुरी पूरा गरेकी थिइन्।

यस स्पर्धामा राष्ट्रिय रेकर्ड भने राजकुमारी पाण्डेको नाममा रहेको छ। सन् १९९० को बेइजिङ एसियान गेम्समा ४ मिनेट ३४.४७ सेकेण्डको उनको कीर्तिमान २६ वर्षसम्म कसैले पनि तोड्न सकेको छैन।

रियोमा महिलातर्फ १५ सय मिटरमा ३ हिटमा प्रतिस्पर्धा हुनेछ। जसमा कुल ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। हरेक हिटबाट शीर्ष ६ मा रहने खेलाडी सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् भने बाँकी मध्येबाट उत्कृष्ट समय रहेका ६ खेलाडी पनि छनोट हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell