बुटवल : गएराति बुटवलस्थित कालिकानगरमा एक महिलाको रहस्यमय तरिकारले हत्या भएको छ।
भाडाको घरमा बस्दै आएकी कमला न्यौपानेको एक्लै भएको अवस्थामा हत्या भएको हो। तिलोत्तमा नगरपालिका–१३ घर भई व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा परिवारसहित उनी सात वर्षदेखि बस्दै आएकी थिइन्।
उनका श्रीमान् बुटवलस्थित जेसिज चोकमा जुत्ताको थोक व्यापार गर्दै आएका छन्। उनी भने ढिकुटीको कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले बताए।
दुई सन्तान काठमाडौँमा बसेर अध्ययन गरिरहेको र श्रीमान् पनि सामान लिन काठमाडौं गएको बेला उनको हत्या भएको हो। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।