PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कान्तिपुर गाथा : रिपोर्टर कनिका



किशोर नेपाल

कान्तिपुर गाथा : रिपोर्टर कनिका

चार्ली कतार उडेपछि फेरि शुरु भयो कनिकाको उद्विग्न मनको उदास यात्रा। कान्तिपुर शहरमा कहिले दरबारमार्ग, कहिले पुतलीसडक त कहिले ठमेल। कहिले कफी, कहिले स्मूदी र कहिले तकिला। हरेक दिन ऊ आफ्नो मन दह्रो पार्थी चार्लीको सम्झनामा नझोक्राउन। तर उसको बनेको मन बेला-बेलामा भत्किइहाल्थ्यो ।
 
कम्तीमा पनि दुई वर्षका लागि ऊ चार्लीलाई चटक्क बिर्सिन चाहन्थी। तर, जति कोसिस गरे पनि त्यसो गर्नु सम्भव नै भइरहेको थिएन। ऊ आफैं हैरान थिई- के जादू गर्‍यो चार्लीले यस्तो?
 
उसलाई थाहा थियो, यसरी लग्गु भएर चार्लीलाई नै सम्झिइराख्नु, मेसेन्जर वा भाइबर कलमा उसलाई पर्खिराख्नुको कुनै तुक थिएन। तर, मन हो, यो कसैको वशमा हुँदैन। न त यो बाँधेर बाँधिन्छ, न रोकेर रोकिन्छ। मानिसका लागि मायाको सम्झना नदीको पानीमा देखिने तीव्र प्रवाह जस्तै हो। प्रवाह कहिले थामिन्छ र कहिले छाल बनेर फर्किन्छ; कसैले भन्न सक्दैन। प्रवाह थामिए पनि पानीमा त्यसका असरहरु निकै लामो समयसम्म देखिन्छन्। कनिका आफनो चित्त बुझाउन खोज्थी। तर मन भने गीत जस्तै दोहोरिइरहन्थ्यो–


‘जति बिर्सूँ भन्छु उति सम्झिने झन्
फगत एक नजरमा कसैले लियो मन...’
 
कनिका बाटोमा बहकिइरहेको बेला एक दिन अचानक भेटिई सुदिप्ती। ब्वाई फ्रेण्डसँगको ब्रेकअपपछि ऊ पनि पागल जस्तै भएकी थिई कुनै बेला। कनिकाको र उसको कहानी भने बेग्लै थियो। सुदिप्तीले भोगेको छटपटी र कनिकाले भोगेको छटपटी उस्तै भए पनि सुदिप्तीको ब्रेकअपको कारण ऊ आफैं थिई। निकैपछि मात्र सुदिप्तीले आफूलाई सेटल गरी। उसले एउटा सानो न्युजपेपर चलाउन थालेकी थिई, ‘दि अब्जर्भर’।

तन्नेरी पुस्ताका मानिसहरुको समाचार छापिने यो न्युजपेपर युवा समाजमा निकै चर्चित थियो। कनिकाको कुरा सुनिसकेपछि सुदिप्तीले उसको कथामा समाचारको एंगल खोजी र भनी, ‘व्हाइ डोण्ट यू राइटडाउन एभ्री थिङ, फ्रम टप टु बटम, विटविन? इट वील वी इन्ट्रेस्टिङ टू शेयर।’
 
सुदिप्तीले भनेजस्तो कनिका लेख्नका लागि तयार भई। तर, ऊ सुदिप्तीले खोजे जस्तो आफनै कुरा लेख्न चाहन्नथी। उसले सोधी, ‘भन त यार, मैले मेरै कुरा लेख्नु जरुरी छ र? आइ जस्ट वान्ना राइट। नट पर्सनल। उड यू हेल्प मी?’
 
कनिकाले स्थानीय समाचार लेख्ने भई। सुदिप्तीले सुझाई, 'साउनको सोमबार पशुपतिमा लाग्ने भिडको बारेमा लेख्ने; तेरो मूड पनि फ्रेस हुन्छ। मोडर्न वीमेनहूडको कथा पनि आउँछ। जिस्क्याउनचाहिँ नजिस्क्याउनु। हरियो चुरा र राता पोशाकमा सजिएर पशुपति आउने ती नारीहरु भोका हुन्छन्। ओहो, भोक शब्द आउनेबित्तिकै मलाई त भोक लाग्यो। तँ पनि केही खान्छेस्?’
 
उनीहरुले क्रिस्पी पोटेटो चिप्स खाए। कफी पिए र एकएक सिगरेट सल्काए।
 
तीन दिनपछि कनिका पशुपतिमा थिई। मन्दिर परिसरमा भक्तजनहरु संगीत र नृत्यमा तल्लीन थिए। तमाशा हेर्दाहेर्दै भिड सँगसँगै ऊ आइपुगी गौशाला चोक। उसका आँखा चोकको दक्षिणमा फैलिन थालेको बजारमा पर्‍यो। ऊ त्यतै लागी। मेलम्चीले भर्खर बिगारेको त्यो सडक निर्माणको संकेत कतै थिएन। हिलो र जमेको पानीले बाटो हिँडनेहरुलाई निकै असुविधा थियो। त्यस्तो बाटोमा पनि दुवैतिर बजार फैलिएको थियो।

बजार जति फोहोर थियो, त्यत्ति नै थियो जीवन्त। हिन्दी गीत, दोहोरी गीत र सुगम संगीतको मिश्रण थियो वातावरणमा। छड्के आँखा जुधाउने केटाकेटी पनि निकै थिए। सर्लाही लज, महोत्तरी भोजनालय, बारा खाजा घर, सिराहा होटल एण्ड लज, कस्मिक टुरिज्म, वैष्णोदेवी टुर्स एण्ड ट्राभल्स, यहाँ सर्लाही जाने सुमोको टिकट पाइन्छ, न्यु साप्ताहिक डिलक्स– साइनबोर्डको लर्कन देखेर नै आत्तिएकी थिई कनिका।
 
उसले गल्लीका रेष्टुराँतिर आँखा दौडाई- माछाभात– ९० रुपैयाँ, चिकन करी राइस– १२० रुपैयाँ, यहाँ शुद्ध शाकाहारी खाना पाइन्छ– ८० रुपैयाँ।
 
‘दि लिटिल मधेश’– कनिकाको ओठबाट अनायाश यो शब्द निस्किनु त्यति अस्वाभाविक थिएन। किनभने, बजारमा मधेशका विभिन्न गाउँबाट आएका नेपालीहरुको भिड थियो। भिड देखेर कनिका छक्क परी। उसले एक स्थानीय व्यापारी महिलासँग सोधी, ‘के यी सबै मानिस पशुपतिको दर्शन गर्न आएका हुन्?’
 
कनिकाको प्रश्न सुनेर ती व्यापारी महिला जोडले धीत फुकाएर हाँसिन्। मानौं कि उनले धेरै लामो समयदेखि मन फुकाएर हाँस्नै पाएकी थिइनन्। निकै लामो हाँसोपछि कनिकाको प्रश्नको जवाफमा उनले भनिन्, ‘केको पशुपति दर्शनका लागि आउँथे नि नानी। यी त सबै नोट कमाउन विदेश जान लागेका लाहुरे हुन्। अब भिसा लागेपछि यी कतार-दुबईतिर उड्छन्। यो टोलमा वैदेशिक रोजगारीका अफिसहरु टन्नै छन्। यहाँको बजार त्यसैले चलेको हो।’
 
कनिकाको नजर छेउको एउटा छाप्रोमा पर्‍यो, ‘वरहथवा लज एण्ड भोजनालय।’ ऊ अचम्ममा परी– त्यो दुई वटा सामान्य कोठा भएको छाप्रोमा चलेको लज कस्तो होला? भोजनालय कस्तो होला? केही बेरपछि उसले रियलाइज गरी, अहिलेसम्म उसले देखेको होटल र लजहरु सबै त उस्तै छन्। जो ठूला छन्, ती यो बजारभित्र छैनन्। ऊ आफ्नो अज्ञानतामा हाँसी र बजारका पसलहरुमा राखिएका विभिन्न खालका कपडा र ब्युटी प्रडक्टस्हरु हेर्न थाली। बजारको एक छेउमा टाँगिएको एउटा सानो साइनबोर्डमा लेखिएको थियो- ‘यौन दुर्बलता हटाउन सम्पर्क गर्नु होला। ग्यारेन्टीका साथ उपचार गरिन्छ।’

पढेर कनिकालाई खित्का छाडेर हाँस्न मन लागगेको थियो। तर, हाँसिन। हाँसोलाई मनैमा दबाइदिई।
 
कनिकालाई लाग्यो, ऊ त ख्यालख्यालमा नै रिपोर्टर भइसकी। ऊ गल्लीबाट बाहिरिई। छेउमा रहेको एउटा धार्मिक संघको आँगनमा हरियो चुरामा सजिएका महिलाहरु ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो’को शैलीमा शिव–पार्वतीको भजन गाउँदै थिए। (फोटो : inquisitr.com)


यो सिरिजका अन्य गाथा-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell