
पोखरा : कास्की जिल्लामा आर्थिक वर्ष ०७२/०७३ मा ६९ दशमलव ८३ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन्।
शुक्रबार पोखरामा पत्रकारसँगको अन्तरक्रियामा न्यायाधीश नरिश्वर भण्डारीले सबैभन्दा बढी १ हजार ६९ मुद्दा फर्छ्यौट गरेको जानकारी दिइयो। यो फर्छ्यौट संख्यासँगै न्यायाधीश भण्डारीले एकै वर्षमा धेरै मुद्दा फर्छ्यौट गर्नेमा आफूलाइ नेपालभर पहिलो स्थानमा पुर्याउन सफल भएका छन्।
यसैगरी जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेल, अनन्तराज डुम्रे, नागेन्द्रलाल कर्ण, नारायणप्रसाद दाहाल र विष्णुप्रसाद गौतमले पनि लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेका छन्। न्यायाधीश पौडेल गत माघबाट, दाहाल पुसबाट र गौतम वैशाखबाट कास्की जिल्ला अदालतमा सरुवा भई आएका हुन्।
यसैगरी जिल्ला न्यायाधीश रामप्रसाद ओली गएको पुससम्म तथा न्यायाधीश चुरामन खड्का र न्यायाधीश पुरुषोत्तम ढकाल गत साउन महिनासम्म कार्यरत थिए। सबै न्यायाधीशको आर्थिक वर्ष ०७२/०७३ मा लक्ष्यभन्दा बढी प्रगति भएको अदालतका स्रेस्तेदार कृष्णप्रसाद नेपालले जनाए।
यस्तै आर्थिक वर्ष ०७२/०७३ मा ३ हजार ४ सय ५१ थान मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता संख्या अघिल्लो वर्षको तुलनामा बढी हो। अघिल्लो वर्ष १ हजार ९ सय ६४ थान मुद्दा दर्ता भएका थिए।
यो वर्षभित्र दर्ता भएका मुद्दामा सम्बन्ध विच्छेद मुद्दा सबैभन्दा धेरै ५ सय ९१ थान दर्ता भएका छन्। आव ०७२/०७३ मेलमिलाप केन्द्रमा पठाइएका मुद्दामध्ये १७ थान मुद्दा सफल भएका छन्। अदालतले सञ्चालन गरेको फैसला कार्यान्वयन विशेष अभियानबाट २ लाख ७० हजार ३ सय ८४ रुपैयाँ नगद र २४ वर्ष १ महिना १३ दिन कैद असुल गर्न सफल भएको छ।
अदालतले आर्थिक वर्ष ०७३/०७४ मा ३ हजार ८ सय नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको छ।