PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

नेविसंघ महाधिवेशनमा लफडा : देउवाको उम्मेदवार छान्न सिटौला-गगनको बाधा



रमेश वाग्ले

नेविसंघ महाधिवेशनमा लफडा : देउवाको उम्मेदवार छान्न सिटौला-गगनको बाधा

काठमाडौं : नौ वर्षपछि हुन लागेको नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सक्न नौ दिनभन्दा बढी लाग्ने भएको छ।
 
गत २३ गते उद्घाटन भएर नेताहरुको स्वार्थका कारण स्थगित भएको महाधिवेशन शुक्रबारबाट पुनः प्रक्रियामा फर्कने अवस्थामा छ। तर विवाद पूरै अन्त्य नभइसकेकाले महाधिवेशन प्रक्रियामा प्रवेश गरिसकेको छैन।
 
नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट सुरु भएको देउवा-सिटौला अघोषित गठबन्धन नेविसंघ महाधिवेशनमा पनि कायम रहने अवस्था देखिएको छ। तर त्यो गठबन्धनभित्रको 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' महाधिवेशनका लागि अर्को चर्चाको विषय बनिरहेको छ।
 
देउवा प्यालनबाट उठ्ने अध्यक्षलाई मानेर त्यसमा आफू पक्षका विद्यार्थीहरु सेटल गर्न राजी भई गठबन्धन निर्माणमा लागेका सिटौलाले नै प्यानलमा यो हुने ऊ नहुने भनेपछि देउवा पक्षका नेताहरु नै हैरान छन्। त्यही कारण देउवा प्यानलका दोस्रो तहका नेताहरु सिटौला समूहभित्र घाँडो भएर छिरेको तर्क गरिरहेका छन्।
 

किन भयो त्यस्तो?

देउवा प्यालनबाट प्रतिनिधिको र्‍यान्डम प्रतिक्रियाबाट दोस्रो पोजिसनमा नैनसिंह महर रहेको भन्दै उनैलाई उम्मेदवार बनाइयो। त्यहीअनुरुप महरले पनि तयारी थाले।

तर, अन्तिममा सिटौला समूहले जीतजंगलाई अध्यक्षको उम्मेद्वार बनाएमात्र कुन्दन काफ्लेलाई महामन्त्रीमा प्यानलमा राख्ने तथा अन्य पदहरु पनि गठबन्धन बनाएर सहकार्य गर्ने बताएपछि देउवा पक्ष समस्यामा परेको छ।
 
पार्टी सभापति देउवाले भने दोस्रो तहका नेताहरुलाई निर्णय गरेर आउन आग्रह गर्दै निर्णयपछिका समस्या आफूले सम्बोधन गर्ने आश्वासन दिएका छन्।
 
'सभापतिज्युले मेरोमा छलफलका लागि पनि नबस्नुहोस् र तपाईंहरु नै बसेर जीतजंग बस्नेत र नैनसिंह महरमध्ये जो उपयुक्त हुन्छ, उसैलाई निर्णय गर्नुहोस् भन्नुभएको छ,' कांग्रेसका एक केन्द्रीय सदस्यले भने, 'तर सिटौला समूहबाट प्रदीप पौडेल, गगन थापा लगायतले पहिले नै जीतजंगलाई वचन दिएजस्तो देखिएको छ। उहाँहरु जीतजंग भएमात्र गठबन्धन हुने कुरा गरेर अड्काइरहनुभएको छ।' उनले सिटौला समूहकै अडानका कारण उम्मेदवारका विषयमा निर्णय गर्नुपर्ने अवस्था आएको बताए।
 
सिटौला समूहका प्रभावशाली नेता गगनले भने एलायन्स गर्नेबारे कुनै छलफल नै नभएको बताएका छन्। 'अहिलेसम्म प्रतिनिधिको विवाद नै टुंगिएको छैन प्रतिनिधिको नाम प्रकाशित समेत हुन सकेको छैन,' उनले भने, 'अधिवेशन नै सुनिश्चित भएको छैन भने कहाँ एलायन्स र कहाँ उम्मेदवारको कुरा?' उनले प्रतिनिधिको नाम प्रकाशित भएर अधिवेशन हुने सुनिश्चित भएपछि मात्र एलायन्स हुने/नहुने विषयको छलफल सान्दर्भिक हुने बताए।
 
नैनसिंह निकटका एक विद्यार्थी नेताका अनुसार जीतजंग भएमात्र कुन्दनको प्रभाव संगठनमा रहने विश्लेषणमा सिटौला पक्ष छ। 'नैनसिंह जस्तो बौद्धिक र प्रभावशाली व्यक्ति अध्यक्ष भएमा कुन्दन जस्ता नेताहरु संगठनमा प्रभावहीन बन्न सक्छन् भन्ने सिटौला प्यानलको विश्लेषण भएको देखिन्छ,' ती नेताले भने, 'त्यसैले बौद्धिक बहस कम गर्ने नेता उनीहरुको रोजाइमा परेको हुन सक्छ।' उनले सिटौला प्यालनसँग सहकार्य नगरेमा परिणाम हात पार्न सहज अवस्था छैन भन्ने नेताहरुको कमजोर विश्लेषणले सिटौलाको हात माथि पारेको बताए।
 
'यही अवस्था हो भने सिटौलाकै प्रस्तावमा जीतजंग उम्मेदवार बन्न सक्छन्। त्यति बेला उनलाई कसको उम्मेदवार भन्ने?' उनले प्रश्न गरे।
 
कांग्रेसका सभापति पक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने आफूले कसलाई उम्मेदवार बनाउने भन्ने प्रस्ताव सिटौलाबाट नसुनेको बताए। 'हामी उम्मेदवार तय गर्न भरे वा भोलिसम्म बस्छौं र त्यहीँबाट एउटा निर्णयमा पुग्छौं,' खाँडले भने, 'त्यसअघि कसले के प्रस्ताव राख्छ वा कसको के इच्छा छ भन्ने कुराको कुनै मतलब हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell