- सुमन घिमिरे -
मलाई त्यो मान्छेको कुरा सुनेर अचम्म लाग्यो । जिन्दगीबाट हारेकी, सबैतिरबाट तिरस्कृत मलाई आफैले भुलेको जन्मदिनको उपहार कसले दिन्छ र ? त्यो पनि नागरिकता र फोटो दिएर आफै बुझ्नुपर्ने रे ! छक्कै परें । नेपालमा त कोही थिएन, किनभने नाता लाग्नेहरुले मेरो पैसा त फिर्ता गरेका थिएनन्, उपहार के दिन्थे । यतिका समयपछि नेपाल आएकी म स्कुल वा कलेजका साथीहरुको सम्पर्कमा पनि
थिइनँ ।
अमेरिकामा हुँदा पनि महेशबाहेक कसैले मलाई उपहार दिएको थाहा थिएन । महेशले भने हरेक जन्मदिनमा केही न केही सरप्राइज दिन्थ्यो । कतिसम्म भने जन्मदिनको दिन ऊ अघिपछि जस्तै हुन्थ्यो । म चाहिँ उसले महिनौ पहिलादेखि मेरो जन्मदिनका बारेमा कुरा गरोस् भन्ने चाहन्थें । कम्तीमा अघिल्लो दिन त सम्झेला भन्ने आशा राख्थें । ऊ भने केही कुरा गर्दैनथ्यो । मानौ, त्यो वर्ष मेरो जन्मदिन नै पर्दैन झैँ गर्दथ्यो । बिहान उठेर त जन्मदिनको शुभकामना देला भन्यो, ऊ सधैं झैँ म गएँ है भन्दै हतारमा निस्के झैं देखिन्थ्यो ।
त्यसरी गएको देखे पछि मलाई महेशसँग खुब रीस उठ्थ्यो, किनभने अमेरिकी समाजमा खुशीका लागि नेपाली चाडबाडभन्दा यस्ता दिनहरुले खास महत्व राख्थे । त्यसैले म जन्मदिनका दिन कतै जान्नथें । सकेसम्म बाहिरै निस्कन्नथें । महेशले दिउँसो फोन गरे तापनि सधैं झैँ चियाखाजाको कुरा गरेर फोन राख्थ्यो । उसले फोन गरेर पनि केही नभने पछि आफै भनौं कि झैँ गर्दथें म, तर मैले भन्नुपर्ने कुरा भनिनसक्दै उसैले फोन राखिसक्थ्यो ।
बिहे गरेको महिनादिनपछि मेरो जन्मदिन थियो । म त्यो जन्मदिन खास तरीकाले मनाउन चाहन्थें । त्यही भएर मैले बिहेकै रात आफ्नो जन्मदिनको कुरा गरेकी थिएँ । तर जन्मदिनको अघिल्लो रातसम्म उसले कुरै निकालेन । म मेरो जन्मदिनमा हाम्रो वरिपरिका नेपालीहरुलाई घरमा बोलाउन चाहन्थें, किनभने उनीहरु हाम्रो बिहे हुनुअघिदेखि नै हामीलाई दम्पतीका रुपमा हेर्दथे । त्यही भएर म उनीहरुलाई त्यो दिन बिहेभोज नै खुवाउन चाहन्थें ।
महेशले मेरो जन्मदिनको अघिल्लो दिनसम्म केही नभने पछि मैले पनि त्यसबारेमा कुरा गरिनँ । बिहे पछि किनमेल र घूमघाममा निकै खर्च भएकाले हो कि भन्ने पनि लाग्यो । कसैलाई बोलाउने कुरा त भएन नै तर उसले जन्मदिनको कुरै नगरे पछि मेरो मन खिन्न
भयो । सधैं झैँ काममा गएको उसले त्यो दिन फोन त के एसएमएससम्म पनि गरेन । उसको व्यवहारले मलाई नरमाइलो लाग्यो । त्यो दिन म ऊसँग झगडा गर्ने मुडमा थिएँ । नयाँ–नयाँ बिहे भएकाले म अलि बढी नै भावुक भएकी थिएँ ।
बेलुका सधैं झैँ ढोकाको बेल बज्यो । म ढोका खोल्न गइनँ । लगातार बेल बजे पछि निकै ढिलो गरेर ढोका खोल्न गएँ । महेशलाई चेताउन मैले त्यसो गरेकी थिएँ । निकै रीस बोकेर ढोका खोल्दा बाहिर महेश नभई कोही माग्ने उभिएको देखें । ऊ माग्नुको साटो “माफ गर्नुहोला म आज तपाईंसँग लिन होइन तपाईंलाई दिन आएको” भन्दै थियो ।
माग्नेले दिने कुरा गर्दा म अचम्ममा परें । म अलमलिएको बुझेपछि माग्नेले दिने कुरा नदिई भन्यो, “तपाईंले मलाई दिनेजस्तै मबाट पनि केही पैसाको अपेक्षा गर्नुभएको होला, तर मसँग तपाईंलाई दिने पैसा छैन । निराश नहुनु होस् म तपाईंलाई पैसाभन्दा महत्वपूर्ण कुरा दिन चाहन्छु ।” उसको कुरा सुने पछि मैले उसलाई माग्नेभन्दा बढी पागल देखें । मैले ढोका बन्द गर्नलाग्दा “म्याम एकछिन धैर्य गर्नुस् । पैसाभन्दा महङ्खवपूर्ण कुरा खुशी हो । म जन्मदिनको शुभकामनासहित तपाईंलाई यो खुशी दिन भनेर पठाइएको हुँ” भन्दै उसले हिराको सेट दिएपछि म त्यहीं थचक्क बसें । त्यही बेला मैले बोलाउन चाहेका मान्छेहरुसहित आइपुगेको महेशले मेरो हात समातेर चुमेको थियो ।
हामीले बिहेकै बेला सानो जमघट गर्ने विचार गरेका थियौं । तर परिस्थिति त्यस्तो बनेन । त्यही बेला मैले बोलाउनुपर्ने मान्छेका बारेमा कुरा गरेकी थिएँ । महेशले उनीहरु सबैसँग उसले मलाई दिने सरप्राइजको कुरा गरेको रहेछ । उसको त्यो पागलपनको साक्षी बन्न बोलाइएका बाहेक त्यो कुरा सुनेकाहरु पनि आएका थिए । महेशले मान्छे मात्र बटुलेको थिएन उनीहरुका लागि खानेकुरासमेत बाहिरबाटै मगाएको थियो ।
बिहे पछिको पहिलो जन्मदिन मात्र होइन मेरा हेरक जन्मदिन विशेष हुन्थे । मलाई जन्मदिनको शुभकामना दिन महेशले यस्ता–यस्ता फिल्मी हर्कत गर्दथ्यो कि त्यो देखेर खुशीले हाँसो कति बेला खुस्कन्थ्यो, आँसु कति बेला बग्थ्यो, थाहै हुन्नथ्यो । महेशले मेरो जन्मदिन सोधेर थाहा पाएको थिएन । शायद मेरो पासपोर्ट वा सर्टिफिकेट हेरेर थाहा पाएको थियो । बिहेअघि जन्मदिन पारेर केही न केही पठाउँथ्यो तर जन्मदिनको नाम लिँदैनथ्यो ।
महेश आफैले मेरो हरेक जन्मदिन विशेष बनाइदिने भएकाले मलाई आफ्नो जन्मदिन याद हुन्नथ्यो । वास्तवमै मेरा हरेक जन्मदिन यति विशेष हुन्थे कि, के भन्ने ? कहिले जन्मदिनको दिन मर्निङ वाक निस्कँदा महेशको नाममा कोही अपिरचित मलाई जन्मदिनको उपहार दिएर जान्थ्यो । कहिले घरअगाडि बस कुरिरहेका स्कुले बालबालिका महेशका नाममा मलाई जन्मदिनको शुभकामना र उपहार दिन्थे । कतिसम्म भने एक पटक मेट्रोमा टिकट चेक गर्दै आउनेले मेरो टिकट हेर्नुको साटो महेशका तर्फबाट मलाई जन्मदिनको उपहार दिएको थियो ।
सम्बन्धविच्छेदपछिको पहिलो जन्मदिनमा महेशले मलाई फेसबुकमा शुभकामना दियो । उसले त्यो दिन अमेरिकाको प्रसिद्ध शिवमन्दिरमा बालेको बत्तीको फोटो पोस्ट गरेको थियो । त्यसको क्याप्सनमा लेखेको थियो, “म मन्दिरमा भगवान्का लागि बत्ती बाल्न मन पराउँछु, तर आजको दिन बालेको यो बत्ती भगवान्का लागि होइन.............।”
त्यो पोस्ट पढे पछि मलाई काम गर्न मन लागेन । अफिसबाट बिदा मागेर निस्कें । दिनभरि घुमें । माग्ने, अपिरचित, स्कुले बालबालिका वा अरु कसैले मलाई महेशको तर्फबाट जन्मदिनको शुभकामना दिन्छन् कि भन्ने अपेक्षासहित । तर त्यस्तो भएन । मैले त्यस्तो हुने ठाउँ नै राखेकी थिइन, तापनि मेरा अपेक्षाहरु ती सब कुरा बिर्सन मान्दैनथे । त्यो दिन म घरमा आएँ । घरभरि छरिएका सम्झनाले झन् बेचैन भएँ । मेरो जन्मदिन थाहा पाउनेले पनि बिर्सेछन् । म आफैले बेचैनी भुलाउन चिनेजानेकालाई घरमा बोलाएर पार्टी गरें ।
त्यसपछिको जन्मदिनमा म महेशकहाँ थिएँ । त्यसबेला महेशले पूरै बेवास्ता गर्यो। पूरै दिन महेशले केही सरप्राइज दिन्छ कि भनी कुरिबसें । उसको फेसबुकमा स्टाटस पनि पोस्ट भएको थिएन । त्यसैले मेरो आशा झन् तीव्र भएको थियो । तर मेरो अपेक्षाजस्तो केही पनि भएन ।
(घिमिरेको शनिबार सार्वजनिक हुने उपन्यास 'मौनता' को अंश)