स्मृति
- विक्रम अधिकारी
अफसोस कहिलेकाहीँ त्यही मृत्यु यति क्रोधित भएर आइदिन्छ जसले राम्रो नराम्रो सबै बढारेर लैजान्छ। न्याय, अन्याय भन्ने नै र्बिसन्छ।
गत अगस्ट ८ (साउन २४) बिहान करिब १० बजे (डेनमार्कको समय) सधैंझैं भर्खरै ओछ्यानमा पल्टिएर फेसबुकमा समाचारहरु हेर्दै थिए। जहाँ गोरखाबाट बिरामी लिएर काठमाडौं उडेको फिस्टेल एयरको हेलिक्कोप्टर सम्पर्कविहीन भन्ने खबर थाहा पाएँ।
तब म टक्क रोकिएँ, मेरो दिमागमा रन्जनको याद आयो।
उसो त नेपालमा जहिले पनि हेलिकोप्टर दुर्घटना भने पनि खै किन मेरो दिमागमा रन्जनको नै याद आउँथ्यो। अझ त्यस दिन त फिस्टेल एयरको हेलिकोप्टर भन्नेबित्तिकै मेरो दिमागमा रन्जन नै मेरो वरिपरि घुम्न थाल्यो। तत्कालै म नेपालका आफन्त साथीभाइलाई सम्पर्क गर्नतिर लागेँ। केही समयपछि उक्त हेलिकोप्टरलाई लिम्बु पाइलटले चलाएको भन्ने थाहा पाएँ। उही रन्जन त होइन?
म केही निस्सासिएँ जस्तो भए, पागल जस्तो यताउता भौंतारिन लागेँ। चिटचिट पसिना आएपछि घटघटी पानी पिएँ।
केही बेरमै नै दुखद समाचारले फेसबुकको भित्ता भरिन थाल्यो।
क्याप्टेन रन्जन लिम्बुले चलाएको उक्त हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको खबर भाइरल भयो। घटनास्थलतर्फ प्रहरीहरु जाँदैछन् भन्ने समाचार आउनेबित्तिकै मेरो मनमा एउटै कुरा खेलिरह्यो- रन्जनको अवस्था के होला? कुनै जादु भएर रन्जन बाचेँ पनि हुन्थ्यो नि!
रन्जनलाई मैले करिब आजभन्दा पाँच वर्षअगाडि चिनेको हुँ। ऊ र म एउटै कक्षामा भर्ना भएका थियौं। मानविकी संकायको स्नातक पढ्नका लागि राजधानीको बसुन्धारास्थित साउथ वेस्टन स्टेट कलेजमा हामी सहपाठी थियौं।
कलेजमा पढ्न आएदेखि नै उसको बारेमा गाइँगुइँ हल्ला चलेको थियो- कलेजमा पाइलट पनि पढ्छ रे!
सम्भवत: त्यति बेला रन्जन अमेरिकामा पाइलटसम्बन्धी तालिम लिएर नेपाल आएको हुनुपर्छ। मलाई थाहा थिएन, पाइलट भनेको एउटा निश्चित समयमा गरिने कोर्स हो भनेर। त्यसैले म पढ्ने कलेजमै पाइलट पढ्दैछ भन्ने थाहा पाउँदा म निकै उत्साहित भएको थिएँ।
जब रन्जनलाई मैले पहिलोपल्ट देखेँ। उसको र मेरो उमेर लगभग उस्तै थियो।
त्यही एक-दुई वर्षको अन्तर होला।
सधैं हँसिलो अनुहारमा आएने ऊ क्लासमा सधैं अन्तिम बेन्चमा बस्थ्यो। मैले हाम्रो कक्षाका सबैलाई बिस्तारै साथी बनाइसके पनि रन्जनसँग भने धेरै पछिसम्म पनि बोल्न सकेको थिइनँ, किनकि ऊ पाइलट थियो।

पाइलट नै भए पनि त्यति बेला कलेज आउँदा निकै पुरानो मोटरसाइकलमा आउँथ्यो ऊ। जबकि मेरै कक्षाका थुप्रै साथीका मोटरसाइकल राम्रा थिए।
कक्षाका सबैसँग मजाले हाई-हेल्लो भइसक्दा पनि रन्जनसँग चाँडै त्यस्तो निकटता हुन नसक्नुको अर्को कारण थियो। सुरुमा त ऊ एक्लै आउँथ्यो कलेज तर अलिपछि भने गर्लफ्रेन्डसँग आउन थाल्यो। उनीहरु सधैं अन्तिम बेन्चमा बसेर कुरा गरिरहेका हुन्थे।
रन्जन स्वभावैले निकै चञ्चल थियो। नजिस्किईकन बस्नै नसक्ने। सधै हाँसिरहने। कति पनि घमन्ड नभएको। कक्षाका साथीहरुसँग ऊ जिस्किरहन चाहन्थ्यो। हामी जहिले पनि भेट्दा एक-अर्कालाई हेरेर मुसुक्क हास्थ्यौं र सन्चो-बिसन्चोबारे बुझ्थ्यौं।
कलेज पढदा ऊ नियमित विद्यार्थी हो। प्राय: सधैं कलेज आउँथ्यो तर गलफ्रेन्डबिना आएको देखिनँ।
रन्जन मेरो कक्षाको साथीमात्र होइन, ऊ त प्रेरणा पनि थियो। मैले आफूलाई गर्व गराउने साथी थियो। धेरै पछिसम्म पनि मैले मेरो साथी पाइलट छ भनेर अरुलाई सुनाएको छु। मेरै कलेजका सरहरुले 'पाइलटले पढ्ने कजेज हो' भने गर्वबोध गरेको सुनेको छु।
पहिलोपटक उसले फिस्टेल एयरको हेलिकोप्टर चलाएको भिडियो देखाएको थियो, मेरो आँखा वरिपरि अहिले पनि त्यो क्षण घुमिरहेको छ। विएसडब्लु पढदैगर्दा उसले बिस्तारै पाइलटको रुपमा आफ्नो करिअर अगाडि बढाउँदै थियो ऊ। दोस्रो वर्षसम्ममा अलि बढी व्यस्त भइसकेको थियो। हरेक दिनजसो उडान भरेको सुनाउँथ्यो।
त्यति बेलासम्म भने हामी निकटको साथी भइसकेका थियौं।

उसले आफ्नो फेसबुकमा उडानका क्रममा खिचेका मनमोहक फोटोहरु पोस्ट गरिरहन्थ्यो। यसरी आफ्नो करिअरलाई सफल बनाउदै गरेकोमा मलाई पनि खुसी लाग्थ्यो। कयौं पटक दुर्गम ठाउँका बिरामीहरुलाई रेस्क्यु गरेको थाहा पाउँदा आफ्नो गाउँ पनि दुर्गम ठाउँमा भएकाले केही भवितव्य परेमा उसैबाट सहयोग लिने सोच पलाएको थियो ममा। आफ्नो यात्राको क्रममा नेपालका हिमाली भेगहरुको फोटोहरु उसको फेसबुकमा देख्दा कुनै दिन आफू पनि ऊसँगै हिमालको यात्रामा निस्कने सपना देखेको थिएँ।
खोइ यो त मेरो कस्तो सपना थियो कुन्नि। तर, रन्जन तिम्रा त असीमित सपना थिए होलान्। तर समयले तिमीसँगै ती सपनालाई पनि मारेर गयो।
हाल रेडियो नेपालमा समाचार सम्पादकको रुपमा कार्यरत डेला प्रसाईंको शब्द यहाँ उद्धृत गर्दैछु- रन्जन तिम्रा तस्बिर हेर्दा लाग्छ, तिमीलाई केही भएको छैन, तर जब आफैंले यो दुखद समाचार सम्प्रेषण गरेँ, लागिरहेछ त्यो रन्जन तिमी नभएर अरु कोही हो। कहिले नफर्कने गरी आकाशमा अस्ताएका तिमी हाम्रो मनमा सधैं उदाउनेछौ…
(गोर्खाबाट बिरामी बोकेर उडेको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा साउन २४ गते क्याप्टेन रन्जन लिम्बू र अन्य ६ यात्रुको ज्यान गएको थियो। लेखक अधिकारी कुनै बेला रन्जनका साथी थिए, हाल अध्ययनको सिलसिलामा उनी डेनमार्कमा छन्।)