काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
बागमती सफाइ महाअभियानको १७० औँ हप्तामा आज त्रिपुरेश्वर विश्वनिकेतन उच्च माध्यमिक विद्यालय पछाडिको बागमती क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर संकलन गरियो।
ललितपुरको गुसिङ्गालक्षेत्रमा अव्यवस्थितरुपमा राखिएको होर्डिङ बोर्डलाई व्यवस्थित गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका लगायतका संस्थाको सहभागिता थियो। सफाइको नेतृत्व पूर्व मुख्यसचिव लीलामणि पौडेल, चीनका लागि पूर्व नेपाली राजदूत महेश मास्के लगायतले गरेका थिए।
अर्को शनिबार १७१ औँ हप्ताको बागमती सफाइ पनि त्रिपुरेश्वर–गुसिङ्गालक्षेत्रमै गरिने बागमती समितिले जनाएको छ।
यसैगरी रुद्रमती सफाइको १२९ औँ हप्तामा आज रातोपुल– कालोपुल– सहिद स्मारक विद्यालय–ज्ञानेश्वर क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यस्थापन गरिएको छ। सफाइसँगै यस क्षेत्रमा जनचेतनामूलक सफाइ जागरण अभियान पनि चलाइएको रुद्रमती सरोकार समाजका वरिष्ठ उपाध्यक्ष रोहित गिरिले बताए।
सफाइमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, रोट्र्याक्ट क्लब अफ रुद्रमती, काठमाडौँ महानगरपालिका ३३ नं वडा कार्यालय लगायतको सक्रिय सहभागिता थियो। सफाइको नेतृत्व नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गरे।
विष्णुमती सफाइको १०५ औँ हप्तामा आज कुलेश्वर महादेव मन्दिर आसपासमै सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। महादेव मन्दिर परिसरको त्रिवेणीघाटमा धेरै फोहर भएकाले सफा बनाइएको अभियानकर्मी अनिल धरेलले बताए।
यो क्षेत्रमा कवाडीले सडकमै कवाडी सामग्री राखेर बनाएको फोहरलाई पनि व्यवस्थापन गरिएको छ। सफाइमा सशस्त्र प्रहरी, सामुदायिक प्रहरी कुलेश्वर, जीवन विज्ञान नेपाललगायतका संस्थाको सहभागिता थियो।
अर्को शानिबार १०६ औँ हप्ताको विष्णुमती सफाइ परोपकार माध्यमिक विद्यालय क्षेत्रमा गरिने भएको छ। यसैगरी गुह्येश्वरीमाथिको बागमती सफाइ अन्तर्गत जोरपाटी क्षेत्रमा साकुरालगायत विभिन्न जातका वृक्षरोपण गरिएको छ। राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो। यस्तै नख्खुखोला लगायतमा पनि आज सफाइ गरियो। रासस