- अन्जली रम्तेल -
दश वर्षको बालक उमेरमा विवाह गरेर घरपरिवारमा नै सीमित हुन पुगेकी थानापति–३ नुवाकोटकी भीमकुमारी सिलवाल (मिश्री) ले पढ्न नपाएको पीडालाई ६० वर्षको उमेर पार भएपछि गीति कविता सङ्ग्रह प्रकाशन गरी भुल्ने मेसो मिलाइन्।
दुई वर्षअघि दुई महिना अनौपचारिक शिक्षाअन्तर्गत ‘प्रौढ शिक्षा कक्षा’ लिएको भरमा हाल उनले गीति कविता सङ्ग्रह ‘मिश्री’ निकालिन्।
आज सो कृतिको विमोचन हुँदा उनले भनिन्, “विसं २०६९ मा टोलमा प्रौढकक्षा आयो भनेर सबै महिला खुसी भएर पढ्न जान थाले। त्यो थाहा पाएर म पनि भर्ना भएँ तर कक्षा सुरु भएको एक महिनापछि मात्र पढ्न पाएँ। घरको कामले भ्याउँदै भ्याइँदैनथ्यो। तीन महिनाको कक्षा मैले जम्मा दुई महिनामात्र पढ्न पाएँ। फेरि बेलाबेलामा कक्षा पनि छुट्थ्यो।”
त्यतिबेला लेख्न नजान्दा शिक्षिका स्वयम्ले हातै समाएर आफूलाई लेख्न सिकाएको पनि उनले सम्झिइन्। “एक/दुई हप्तापछि बल्ल लेख्न जानेँ। केही लेख्न र पढ्न जान्ने भएपछि लेख्न मन लागिहाल्दो रहेछ”– उनले भनिन्। कक्षा सकिएपछि पनि उनले लेख्न छाडिनन्। जसको परिणामस्वरुप उनले लेखेका कुराले कविताको रुप लिए।
कवयित्री मिश्रीले भनिन्, “हाम्रो पालामा छोरीलाई पढाउनुपर्छ भन्ने चलन थिएन। घरधन्दामै सीमित भएर जीवनका छ दशक पार भए। घरमा देवर पुण्यप्रसाद सिलवाल कविता लेख्नुहुन्थ्यो। उहाँका कविता सुनेर म धेरै पटक रोएको छु, तर उहाँ कलिलै उमेरमा बित्नुभयो।”
रासस