PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

उपन्यास 'मौनता' लिएर आए सुमन



पहिलोपोस्ट

उपन्यास 'मौनता' लिएर आए सुमन

काठमाडौं : युवा साहित्यकार सुमन घिमिरेको उपन्यास 'मौनता' शनिबार सार्वजनिक भएको छ।

वरिष्ठ पत्रकार किशोर नेपाल, निबन्धकार तथा समीक्षक कुमारी लामा र उदय अधिकारीले एकसाथ पुस्तकको विमोचन गरे।

विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार नेपालले उपन्यासमा सामाजिक विषयलाई जीवन्त रुपमा उठाउने प्रयास गरिको बताए। 'समाजभित्रको मानवीय संवेदनालाई सचित्र उतार्ने प्रयासमा लेखक सफल भएका छन्,' उनले भने, 'वैदेशिक रोजगारी र रोनाधोनालाई उतार्ने प्रयास हुने गरेका छन्, त्यतिमात्रै पाटो होइन। विगतमा पनि कोलकातादेखि गोर्खा भर्ती भएर वैदेशिक रोजगारीमा जाने गरेका थिए। यसलाई सकारात्मक रुपमा पनि लिन सकिन्छ।'
 
समीक्षक लामाले साहित्यिक आकाशमा घिमिरे नौलो नाम नभए पनि पहिलो आख्यानमा सफल हुने आशा व्यक्त गरिन्। उनले नेपाली समाजभित्रको चरित्रलाई उपन्यासमा सफल रुपमा उतारेको भन्दै पुरुष पात्रलाई अत्यन्तै क्षमाशील रुपमा उभ्याउने प्रयास गरिएकोमा प्रशंसा गरिन्। 'महिला पात्र अमेरिकाको सडकमा आपतिजनक रुपमा भेटिँदा समेत पुरुष पात्रले क्षमा दिएका छन्,' उनले भनिन्, 'यो हाम्रो समाजमा सम्भव छैन।'

अर्का वक्ता अधिकारीले नेपालको साहित्य राजनीतिक र सामाजिक विषयबाट टाढा रहन नसक्ने बताउँदै घिमिरेको उपन्यासले सामाजिक विषय उठाए पनि राजनीतिक विषय घुसेको भनाइ राखे। 'हामी यस्तो अवस्थामा छौं, राजनीतिक विषयबाट टाढा रहेर कृति निकाल्न सक्ने अवस्थामा छैनौं,' उनले प्रस्ट पारे, 'लेखकले सामाजिक विषय त उठाएका छन् तर कहीँ न कहीँ राजनीति जोडिएको छ।'
 
कार्यक्रममा लेखक घिमिरेले आफूले विदेश र स्वदेशमा देखेका विभिन्न पाटोलाई उपन्यासको रुपमा उतार्ने प्रयास गरेको बताए।
 
प्रकाशक गोरखा पब्लिकेसनका सञ्चालक लोकमणि पौडेलले नाम चलेका साहित्यकारभन्दा राम्रो साहित्यिक स्रष्टालाई अगाडि ल्याउन चाहेको बताए। पब्लिकेशनको यो पहिलो प्रकाशन हो।

चितवनमा रहेर पर्यटन व्यवसायमा समेत संलग्न रहेका उपन्यासकार घिमिरेको यो दोस्रो कृति हो। पाँच वर्षअघि उनले 'मेरो बैंसको क्यालेण्डर' कविताकृति ल्याएका थिए।

मौनता उपन्यासको मूल्य ३३५ रुपैयाँ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell