PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

महावीरलाई सघाउन गरिएको चित्रकला प्रदर्शनीमा एउटा मात्र चित्र बिक्री



रासस

काठमाडौँ : समाजसेवी महावीर पुनले निर्माण गर्न लागेको ‘राष्ट्रिय अनुसन्धान केन्द्र’को सहयोगार्थ युवा कलाकारले आयोजना गरेको चित्रकला प्रदर्शनीमा एउटा मात्र चित्र बिक्री भएको छ । 

ललितकलाका स्नातकोत्तर तहका १९ विद्यार्थीले तयार पारेका ७० भन्दा बढी चित्रकला यही साउन २४ गतेदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनी शनिबार सम्पन्न भएको छ । 

सन् २००७ को रामोन म्यागसेसे पुरस्कार विजेता तथा समाजसेवी पुनको सहयोगार्थ आयोजित उक्त प्रदर्शनीबाट सङ्कलन भएको रकममध्ये ५० प्रतिशत पुनलाई प्रदान गर्ने घोषणा गरिएको कलाकार धु्रवराज शर्माले बताए । 

रु १० हजारदेखि एक लाखसम्मको चित्रकला राखिएकामा कलाकार जया शर्माको रु ४० हजारको चित्र मात्र बिक्री भएको थियो । 

म्याग्दी जिल्ला राम्चे गाविस–२ को नाँगी गाउँमा जन्मेका पुनले नेपालको ग्रामीण भेगमा सूचना प्रविधि पुर्‍याएका छन्। निजी खर्चमा उनले जिल्लाका विभिन्न दुर्गम गाउँमा इन्टरनेटको पहुँच पुर्‍याएका हुन् । 

कलाकार अनिल महर्जन, बिकुकुमार थापा, विकास श्रेष्ठ, भुफान लिम्बू, दीपाञ्जली राजभण्डारी, दीपक मेहरा, ध्रुवराज शर्मा, काजी राना, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओमप्रकाश गुरुङ, प्रमिला लामा, रितु थापा, सुदेश श्रेष्ठ, उमा खड्का, उपकार घमाल र शोभा तिवारीका चित्र प्रदर्शनीमा राखिएका थिए । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell