
रियो ओलम्पिकमा घरेलु टोली ब्राजिलसँगै जर्मनी, नाइजेरिया र होण्डुरस सेमिफाइनलमा प्रवेश गरेका छन्।
कप्तान नेमार तीन खेलपछि गोल गर्न सफल हुँदा ब्राजिल कोलम्वियालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्ने अभियानमा रहेको ब्राजिलका लागि नेमारसँगै लुअनले गोल गरे।
ब्राजिलले अब फाइनल प्रवेशका लागि होण्डुरसँग प्रतिस्पर्धा गर्नेछ ।
होण्डुरस दक्षिण कोरियालाई १-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। होण्डुरसको जितमा अर्वथ एलिसले निर्णायक गोल गरे।
यस्तै एकपक्षीय बनेको खेलमा पोर्चुगललाई ४-० ले हराउँदै जर्मनी पनि सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मनीको जितमा सर्जि गनवरी, माथिएस जिन्टर, डेभी सेल्क र फिलिप म्याक्सले गोल गरे।
सन् १९९६ को एटलान्टा ओलम्पिकमा स्वर्ण जितेको नाइजेरियाले डेनमार्कलाई २-० ले हरायो। नाइजेरियाको लागि जोन ओवी मिकेल र अमिनु उमरले एक एक गोल गरे।
नाइजेरियाले सेमिफाइनलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।