PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रिमियर लिग : सण्डरल्याण्डले आत्मघाती गोल उपहार दिएपछि म्यानचेष्टर सिटी विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : सण्डरल्याण्डले आत्मघाती गोल उपहार दिएपछि म्यानचेष्टर सिटी विजयी

प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेष्टर सिटीले जित निकाल्दै ३ अंक जोडेको छ। तर यसै सिजनबाट प्रिमियर लिगमा डेब्यु गरेका प्रशिक्षक पेप गोर्डिओलाको लागि सण्डरल्याण्ड विरुद्धको जित त्यति सहज भने भएन। 

म्यानचेष्टर युनाइटेडका पूर्व डिफेन्डर प्याड्डी म्याकनाएरले खेलको अन्तिम समयतिर आत्मघाती गोल गरेपछि सिटीले सण्डरल्याण्डलाई २-१ ले हरायो।
 
एतिहाड स्टेडियममा भएको खेलको चौथो मिनेटमै सर्जियो एगुएरोले पेनाल्टीमा गोल गर्दै घरेलु टोली म्यानचेष्टर सिटीलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलले पछि परेको सण्डरल्याण्डले दोस्रो हाफमा बराबरी गोल फर्कायो।

७१ औं मिनेटमा सण्डरल्याण्डका जर्मइन डेफोले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए। निर्धारित समयको खेल बराबरीतर्फ अघि बढिरहेको बेला ८७ औं मिनेटमा सण्डरल्याण्डका म्याकनाएरले आत्मघाती गोल गरेपछि सिटी २-१ ले विजयी भयो। जितसँगै गोर्डिओलाले आफ्नो पहिलो प्रिमियर लिग खेलमा सिटीलाई ३ अंक दिलाए।

नयाँ सिजनको अन्य खेलहरुमा स्वान्से सिटीले बर्नलेलाई तथा वेष्ट ब्रोमिच अल्विओनले क्रिस्टल प्यालेसलाई समान १-० गोल अन्तरले हराएको छ। 

एभरटन र टोटनहम हट्सपर, मिडलस्ब्रो र स्टोक सिटी तथा साउदह्याम्पटन र वाटफोर्डले भने समान १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। 

यसअघि भएको उद्घाटन खेलमा गत सिजनको लिग विजेता लेस्टर सिटी हल सिटीसँग २-१ ले पराजित भएको छ।

प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। नेपाली समय अनुसार बेलुका ६ः४५ बजे एएफसी बर्नमाउथ र म्यानचेष्टर युनाइटेल बीच खेल हुनेछ भने राती ८ः४५ बजे आर्सनलले घरेलु मैदानमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell