PahiloPost

May 15, 2025 | २ जेठ २०८२

'फ्लाइङ फिस' फेल्प्सले जिते २३ औं स्वर्ण पदक, ओलम्पिकबाट सुखद् बिदाई



पहिलोपोस्ट

'फ्लाइङ फिस' फेल्प्सले जिते २३ औं स्वर्ण पदक, ओलम्पिकबाट सुखद् बिदाई

सन् २०१२ को लण्डन ओलम्पिकपछि लिएको सन्यास फिर्ता लिँदै अमेरिकन माइकल फेल्प्सले रियो ओलम्पिकमा सहभागिता जनाएका थिए।  पौडीबाट रियोको ओलम्पिक अक्वाटिकस स्टेडियममा फेल्प्सले भाग लिएका ६ स्पर्धा मध्ये ५ स्वर्ण र १ रजत पदक जिते।
 
'फ्लाइङ फिस', 'द बाल्टिमोर बुलेट' को नामले चर्चित फेल्प्सले रियोमा ओलम्पिकमा आफ्नो अन्तिम स्पर्धामा पनि स्वर्ण जित्दै ओलम्पिकमा स्वर्णको संख्या २३ पुर्‍याएका छन्।
 
उनले ४ गुणा सय मिटर मिड्ले रिलेमा ओलम्पिक रेकर्ड सहित अमेरिकालाई स्वर्ण दिलाए। फेल्प्ससँगै राएन मर्फी, कोडी मिलर र नाथन एड्रियनले उक्त दुरी ३ मिनेट २७.९५ सेकेण्डमा पूरा गरे। उक्त स्पर्धामा ग्रेट ब्रिटेनले रजत तथा अष्ट्रेलियाले कास्य पदक जितेको छ।  

फेल्प्सले रियो अोलम्पिकमा ४ गुणा सय मिटर फ्रिस्टायल रिले, २ सय मिटर बटरफ्लाई, ४ गुणा २ सय मिटर फ्रिस्टायल रिले र २ सय मिटर इन्डिभिजुअल मिड्लेमा पनि स्वर्ण जिते। १ सय मिटर बलुफ्लाईमा भने फेल्प्सले रजत मै चित्त बुझाए।
 
रियोमा ६ पदक थपेसँगै फेल्प्सले ओलम्पिकमा कुल पदक संख्या २८ पुर्‍याएका छन् र ओलम्पिकबाट फ्लाइङ फिसको सुखद बिदाई भएको छ।

सन् २००० को सिड्नी ओलम्पिककमा पहिलो पटक सहभागिता जनाएका फेल्प्सले त्यहाँ पदक जित्न सकेका थिएनन्। तर त्यसपछिको लगातार ४ ओलम्पिक पौडीमा फेल्प्सले एकछत्र राज गरे। 

ओलम्पिक इतिहासकै सर्वकालीन सफल खेलाडी फेल्प्सले सन् २००४ को एथेन्स ओलम्पिकमा ६ स्वर्ण र २ कास्य जितेका थिए भने २००८ को बेइजिङ ओलम्पिकमा भाग लिएका ८ वटै स्वर्धामा स्वर्ण जित्दै नयाँ कीर्तिमान कायम गरेका थिए।

चार वर्ष अघि लण्डनमा भएको ओलम्पिकमा पनि फेल्प्सले ४ स्वर्ण र २ रजत जितेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell