काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेको छ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाँच जना मन्त्रीको नाम तय गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीका तर्फबाट जनार्दन शर्मा ऊर्जा, राम कार्की सूचना तथा सञ्चार, हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास, धनीराम पौडेल शिक्षा र अजयशङ्कर नायकलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सरकारमा सहभागी गराउने तयारी गरिएको छ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार ती दलले क्रमशः १३ र आठ मन्त्रालय लिने सहमति भएको छ। नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण काँग्रेसबाट मन्त्री पठाउन ढिलाइ भएपछि आज प्रधानमन्त्रीले आफ्नो पार्टीका भागमा परेको मन्त्रीको शपथ ग्रहण गराउन लागेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस विज्ञ माधव शर्माका अनुसार आज अपराह्न ३ बजे नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ। यही साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री दाहालले साउन २० गते माओवादी केन्द्रबाट तीन र काँग्रेसबाट दुई मन्त्री नियुक्त गरेका थिए।
यस्तै यही साउन २७ गते राप्रपाका दुई र नेकपा (संयुक्त)का बाट एक सांसदलाई मन्त्रीको कार्यभार दिइएको थियो। शनिबार राष्ट्रपतिले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइका बारेमा चासो राखेपछि प्रधानमन्त्रीले आज तेस्रो चरणमा मन्त्रिमण्डल विस्तार गरेका हुन्। रासस