PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानसेनापतिले जन्ममिति फेरेको समाचारबारे सेनाको पाँच बुँदे ध्यानाकर्षण



पहिलोपोस्ट

प्रधानसेनापतिले जन्ममिति फेरेको समाचारबारे सेनाको पाँच बुँदे ध्यानाकर्षण

काठमाडौँ : खोज पत्रकारिता केन्द्रले सेनामा कीर्ते कागजबारे गरेको अनुसन्धानमूलक रिपोर्टिङमा प्रधानसेनापतिले समेत जन्ममिति फेरेको प्रमाणसहितको समाचारलाई सेनाले 'भ्रामक' दावी गरेको छ। 

सेनाले मिडियालाई पाँच बुँदे ध्यानाकर्षण पठाउँदै  प्रधानसेनापति राजेन्द्र क्षत्रीको वास्तविक जन्म मिति २०१७ साल मंसिर १ गते भएको तथा सम्पूर्ण प्रमाणपत्रहरुमा समेत उल्लेखित मिति नै जन्म मितिको रुपमा रहेको दावी गरेको छ। 

​खोज पत्रकारिता केन्द्रले भने १ मंसिर २०१६ मा जन्मिएका क्षत्रीले प्रधानसेनापति हुन प्रवेशिका परीक्षा (एसएलसी)को मार्कसिट र प्रमाणपत्रमा १ मंसिर २०१७ बनाएको खुलासा गरेको थियो।

क्षत्रीले तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको ‘मार्क रजिस्टर’मै केरमेट गरी एक वर्ष उमेर सच्चाएको दावी खोज पत्रकारिता केन्द्रको छ। 

उमेर सच्याएसँगै सेनापति क्षत्रीको सेना प्रवेशको मिति पनि विवादित बनेको, सेनाको सिट रोल (सैनिक व्यक्तिको व्यक्तिगत विवरण रहने डायरी) अनुसार क्षत्री ७ कात्तिक २०३५ मा सेकेन्ड लेफ्टिनेन्टका रुपमा सेना प्रवेश गरेको र सच्चाइएको उमेरसँग सेवा प्रवेशको मिति तुलना गर्दा क्षत्रीले १८ वर्ष नपुग्दै सेनामा जागिर खाएको देखिने खोज पत्रकारिता केन्द्रको जिकिर छ। 

तर सेनाले नेपाली सेनामा भर्नाको उमेरको हकमा तत्काल प्रचलित “शाही नेपाली सैनिक नियुक्ति, प्रमोशन र अरु विविध व्यवस्था साधारण नियमहरु २०२०” को नियम ३ (क) मा उल्लेख भए बमोजिम सहायक सेनानी दर्जामा भर्ना हुन छनौट हुने वर्षको बैशाख १ गते १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको (स्नातक तह उत्तीर्णको हकमा २४ वर्ष ननाघेको) हुनु पर्ने भन्ने प्रावधानको अधिनमा रही सैनिक सेवामा प्रवेश गरेको प्रष्ट्याएको छ। 

खोज पत्रकारिता केन्द्रले भने ‘सेनामा १८ वर्ष नपुग्दै इन्फेन्ट्री (पैदल सैनिक) तर्फ अधिकृतमा प्रवेश गर्ने व्यवस्था रहेको मेरो जानकारीमा छैन,’ भन्दै क्षत्रीभन्दा दशकअघि सेना प्रवेश गरी करिव ३९ वर्ष काम गरेका पूर्वरथी बालानन्द शर्माको भनाई उद्धृत गरेको थियो।

सेनाको विज्ञप्ति जस्ताको तस्तै 

​नेपाली सेनाको ध्यानाकर्षण

१.    मिति २०७३ श्रावण २९ गते “प्रधान सेनापतिको शैक्षिक प्रमाणपत्रमा केरमेट” भनी प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको जन्म मिति सम्बन्धमा केही अनलाइन संचारमाध्यमहरुमा सरोजराज अधिकारीद्वारा संप्रेषण भएको समाचारहरुप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ।

२.    आम जनमानसमा सत्य तथ्य खबर सम्प्रेषण गर्नुपर्ने सञ्चार माध्यमहरुले यस प्रकारका भ्रामक खबर सम्प्रेषण गर्नु ज्यादै दुःखद एवं निन्दनीय विषय हो।
 
३.    नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको वास्तविक जन्म मिति २०१७ साल मंसिर १ गते भएको तथा उहांको सम्पूर्ण प्रमाणपत्रहरुमा समेत उल्लेखित मिति नै जन्म मितिको रुपमा रहेको कुरा नेपाली सेना स्पष्ट गराउन चाहन्छ।
 
४.    त्यसैगरी, उहाँको नेपाली सेनामा भर्नाको उमेरको हकमा तत्काल प्रचलित “शाही नेपाली सैनिक नियुक्ति, प्रमोशन र अरु विविध व्यवस्था साधारण नियमहरु २०२०” को नियम ३ (क) मा उल्लेख भए बमोजिम सहायक सेनानी दर्जामा भर्ना हुन छनौट हुने वर्षको बैशाख १ गते १७ वर्ष पुरा भई २१ वर्ष ननाघेको (स्नातक तह उत्तीर्णको हकमा २४ वर्ष ननाघेको) हुनु पर्ने भन्ने प्रावधानको अधिनमा रही सैनिक सेवामा प्रवेश गर्नु भएको समेत नेपाली सेना प्रष्ट्याउन चाहन्छ।

५.    तसर्थ यस प्रकारको भ्रामक एवं कपोलकल्पित समाचार सम्प्रेषणले गौरवमय इतिहास बोकेको नेपाली सेनाको छविमा आँच पुर्‍याउने हुनाले कुनै पनि समाचार सम्प्रेषण गर्नु पूर्व सो बिषयबस्तुको गाम्भीर्यता र संम्वेदनशीलतालाई ध्यानमा राखी गहिराईमा अध्ययन गरेर समाचार संम्प्रेषण गर्दा आम जनमानसमा सही सन्देश प्रवाह हुने कुरालाई मनन् गरी समाचार संम्प्रेषण गर्नुहुन नेपाली सेना हार्दिक अनुरोध गर्दछ।
 

खोज पत्रकारिता केन्द्रको प्रतिक्रिया

सेनाको विज्ञप्तिबारे खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले पनि प्रतिक्रिया दिएका छन्। उनको प्रतिक्रिया जस्ताको तस्तै-

सैनिक जनसम्पर्क निर्देशनालयले ५ वुँदे विज्ञप्ति निकालेको रहेछ । १, २ र ५ बुँदा झुठो विवरण र गलत आक्षेप भन्ने निर्देशनालयको विज्ञप्ति बारे हाम्रो भन्नु यति छ कि समाचार सत्य छ।

बुँदा नम्बर ३ प्रधानसेनापतिको उमेर केरमेट गरेर २०१६ साललाई २०१७ साल मङसिर १ गते बनाइएको हो भन्ने प्रमाण हामीले परिक्षा नियन्त्रण कार्यालयको आधिकारिक दस्ताबेज नै प्रस्तुत गरेका छौ । विद्यालयको अभिलेखमा विवरण केरमेट गरेको हामीले राम्ररी हेरेका छौ । तर, तस्विर लिन सकेनौ । शान्ति विद्या गृह काठमाडौमा त्यो विवरण अहिले पनि सुरक्षित छ।

बुँदा नम्बर ४ मा विभिन्न नियम अनुसार, १८ बर्ष नपुग्दै सैनिक सेवामा प्रवेश पाइन्थो भनेर तर्क गरिएको छ । यसमा पूर्व रथी बालानन्द शर्माको भनाइ हामीले समाचार मै उल्लेख गरेका छौ। रथी शर्मा भन्छन, ‘१८ बर्ष नपुगी कुनै इन्फन्ट्री (पैदल सैनिक) अधिकृतमा प्रवेश गर्ने व्यवस्था भएको मेरो जानकारीमा छैन।’ शर्माले वर्तमान प्रधानसेनापति क्षत्री भन्दा दशक अघि सेनामा प्रवेश गरेर ३९ बर्ष सेवा गरेका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell