पुनेको यारावादा केन्द्रीय कारागारबाट गत फेब्रुअरीमा निस्किएपछि सञ्जय दत्त आफ्नो पुरानो प्रतिवद्धता पूरा गर्दै व्यवसायिक जीवनमा व्यस्त छन्। उनी आफ्ना सन्तानलाई पनि उत्तिकै समय दिइरहेका छन्। यतिखेर उनी सन्तानको भविष्यको योजना तयार पार्दैछ। 'मैले योजना बनाउन थालेको छु तर मैलेभन्दा पहिले मेरी पत्नी (मान्यता)ले थालिसकिन्। उनी गजवकी आमा र पत्नी हुन्। उनले नपत्याउने पाराले हाम्रा सन्तानलाई हुर्काइन्। उनीजस्तो जीवनसाथी पाउनु मेरो भाग्य हो,' बलिउडका हिरो दत्तले भने।
उनका पछिल्ला भेन्चर फ्लोरमा जान बाँकी नै छ त्यसैले सन्तानसँग उनको साथ टुट्दैन। त्रिशाला, सहारान र इकरा दत्त उनीसँगै देखिन्छन्। 'त्रिशालासँग हरेक दिन कुराकानी गर्छु। उनी हुर्केकी युवती हुन्। उनले राम्रो गरेकी छिन् जसप्रति मलाई गर्व लाग्छ,' दत्तले भने।
सञ्जयलाई लाग्छ उनका छोरा सहारन उनीजस्तै देखिन्छन्। 'आशा गर्छु मैलेजस्तै उसले गर्नेछैन (हाँस्दै)। उसले राम्री आमा पाएको छ जो अनुशासित छिन्,' उनले भने। साथै सञ्जयले कहिल्यै पनि आफू जेल परेको सन्तानलाई सुनाएका छैनन्। उनी चाहँदैनन् उनका सन्तानले जेलबारे सुनुन् र त्यसको असर उनीहरुमा परोस्।
सञ्जय र मान्यता दुवैले उनीहरुका सन्तानलाई सञ्जय कामका लागि टाढा गएको बताउँथे। 'मैले म हिमालय क्षेत्रमा सुटिङमा गएको थिए भनेँ। मैले त्यसो भन्नुपर्थ्यो किनकि उनीहरु औधि चलाख छन्। उनीहरुले मलाई फोनमा कल गर्न भन्थे। म पत्र लेख्थेँ। भाग्यवस हामीबीच महिनामा दुई पटक टेलिफोनमा कुराकानी हुन्थ्यो। उनी सोध्थे हिमाल कति ठूलो छ?,' उनले सुनाए, 'म उनीहरुलाई जान आउनमात्रै दुई दिन लाग्छ भन्थेँ। यो सबै उनीहरु केटाकेटी हुँदैमा भयो यसमै म सन्तुष्ट छु।'
सञ्जय यतिखेर आफ्नो प्रोडक्सन हाउसलाई बलियो बनाउन लागेका छन्। 'हामी फिल्म बनाउनेछौं। म अहिले एउटा फिल्म सबल शेखावन्तसँग मिलेर बनाउँदैछु। म आफ्ना सबै फिल्ममा देखिन चाहन्न। म क्रियटिभरुपमा सक्रिय रहन चाहन्छु तर त्यसको आर्थिक पाटो हेर्न चाहन्न। म म्याथमा सधै कमजोर छु,' हाँस्दै सञ्जयले भने।
(हिन्दुस्तान टाइम्सबाट भावानुवाद गरिएको सामग्री)