काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त चारजना राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्री श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विकलाई शपथ गराएका हुन्।
मन्त्रीहरुको शपथ राष्ट्रपति भवनमा हुने गरे पनि राज्यमन्त्री र सहायकमन्त्रीलाई प्रधानमन्त्रीले सिहदरबारमा शपथ गराउने गर्छन्।
वर्तमान मन्त्रिपरिषदमा राज्यमन्त्री जबेगुले सङ्घीय मामिला तथा स्थानीय विकास, भगतले ऊर्जा र तामाङले कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। राज्यमन्त्री विकलाई भने अहिले कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।
उनीहरु चारैजना नेकपा (माओवादी केन्द्र) का सांसद हुन्। समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्रीलाई फूलमाला र टीका लगाएर स्वागत गरे। समारोहमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा तथा अन्य मन्त्री उपस्थित थिए। रासस