बैतडी : घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन्।
बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले २५ वर्षीया श्रीमती बिन्दुको हत्या गरेपछि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले बताएका छन्।
आइतबार दिउँसो श्रीमान्-श्रीमतीबीच सामान्य विवाद हुँदा कमलले बन्चरो र लौरो प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। हत्यापछि घरभित्र उनले पनि आत्महत्या गरे।
भारतमा रोजगारी गर्दै आइरहेका कमल २५ दिनअगाडि मात्रै घर फर्केको प्रहरीले जनाएके छ।
'कमलको मानसिक अवस्था गडबड भएको पाइयो,' अनुसन्धान गर्न गएका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने, 'सामान्य विवादपछि रिसको झोँकमा श्रीमतीको हत्या गरी आत्महत्या गरेको पारिवारिक स्रोतको भनाइ छ।'
आमाबुबा नै नरहेपछि तीन छोराछोरीको बिचल्ली भएको छ। उनीहरुका चार वर्षमुनिका एक छोरी र दुई छोरा छन्।