
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा ६ दिवसीय भ्रमणका लागि आज चीन जाँदैछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा उनी चीनको बेइजिङ जान लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणका लागि चिनियाँ समकक्षी सी जिनपिङलाई पठाएको निमन्त्रणापत्र महराले चीन सरकारलाई हस्तान्तरण गर्ने भएका छन्। यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री लि खछ्याङलाई पठाएको नेपाल भ्रमणको आमन्त्रण पत्र पनि उनले बुझाउनेछन्।
त्यहाँ उनले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उपप्रधानमन्त्री महराका साथमा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल रहनेछन्।
मन्त्रिपरिषदको साउन २७ गतेको बैठकले महरालाई चीन र अर्का उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई विशेष दूतको रुपमा भारत पठाउने निर्णय गरेको थियो। निधि पनि यही साताभित्रै भारत जाने भएका छन्।