PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

रोमाञ्चक खेलमा लिभरपुलले आर्सनललाई ४-३ ले हरायो, म्यानचेष्टर युनाइटेडको विजयी सुरुवात



पहिलोपोस्ट

रोमाञ्चक खेलमा लिभरपुलले आर्सनललाई ४-३ ले हरायो, म्यानचेष्टर युनाइटेडको विजयी सुरुवात

नयाँ सिजनको पहिलो चरणमै भिडेका आर्सनल र लिभरपुरबीचको खेलमा कुल ७ गोल भयो। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा लिभरपुलले आर्सनललाई ४-३ ले हरायो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल विजयी बन्यो।
 
खेलको २९ औं मिनेटमै आर्सनलले पेनाल्टी पाएको थियो। वाल्कोटको पेनाल्टी प्रहार लिभरपुलका गोलरक्षक सिमोन मिङनोलेटले बचाए। तर त्यसको दुई मिनेटपछि नै वाल्कोटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।
 
पहिलो हाफको इन्जुरी टाइममा लिभरपुलका फिलिप काउटिन्होले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए। बराबरी गरेपछि लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार ३ गोल गर्‍यो। ४९ औं मिनेटमा एडनान लालाना, ५६ औं मिनेटमा काउटिन्हो र ६३ औं मिनेटमा सादियो मेनले गोल गरेपछि लिभरपुलले ४-१ को अग्रता बनायो।
 
तर आर्सनलले हार मानेन। ३ गोलले पछि पर्दा पनि आर्सनलले लगातार दुई गोल गर्‍यो। एलेक्स ओक्स्डेल च्याम्बरलाइनले ६४ औं र कलुम च्याम्बर्सले ७५ औं मिनेटमा गोल गरेपछि खेल ४-३ को स्थितिमा पुग्यो। तर त्यसपछि भने दुवै टीमबाट गोल हुन नसक्दा लिभरपुल आर्सनललाई उसैको मैदानमा ४-३ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो।
 
आइतबारै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले एएफसी बर्नमाउथलाई उसैको मैदानमा ३-१ ले हरायो। म्यानचेष्टरको जितमा कप्तान वायन रुनी, हुँवा माटा र यसै सिजन ओल्ड टाफोर्ड पुगेका ज्लाटन इब्राहिमोभिचले गोल गरे। बर्नमाउथका लागि एडम स्मिथले सान्त्वना गोल फर्काए।
 
प्रिमियर लिगको डेब्यु खेलमै गोल गरेका इब्राहिमोभिचले चार फरक लिगको डेब्यु खेलमै गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ला लिगा, इटालियन सिरी ए, फ्रेन्च लिग वन र च्याम्पियन्स लिगमा समेत डेब्यु खेलमै गोल गरेका थिए।
 
उनले सन् २००२ मा एजाक्सबाट खेल्दै लियोनविरुद्ध च्याम्पियन्स लिगमा डेब्युमै गोल गरेका थिए। यस्तै युभेन्ट्सबाट सिरी ए मा २००४ मा, बार्सिलोनाबाट ला लिगामा २००९ मा र पेरिस सेन्ट जर्मेनबाट २००९ मै फ्रेन्च लिग वनमा डेब्यु खेलमै गोल गरेका थिए।
 
स्पष्ट जितसँगै ३ अंक जोडेको रेड डेभिल्स पहिलो चरणको एक खेल सकिनुअघि लिग तालिकाको शीर्ष स्थानमा छ।
 
प्रिमियर लिग अन्तर्गत आज चेल्सी र वेष्टहम युनाइटेडबीचको खेल हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell