
काठमाडौं : नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदान मोहम्मद अल नक्वीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
भेटमा नक्वीले नेपाल र संयुक्त अरब इमिरेट्सबीच मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै प्रधानमन्त्री प्रचण्डको कार्याकालमा द्वीपक्षीय सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा नक्वीले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
भेटमा प्रधानमन्त्रीले नेपालको आर्थिक विकास र साझेदारीका लागि संयुक्त अरब इमिरेट्सले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्ध थप बलियो हुने बताए। संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पले ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण, सुशासन र आर्थिक समृद्धि सरकारको प्राथमिकता भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले दुई देशबीच उच्चस्तरीय भेटवार्ता गरी आर्थिक समृद्धि र विकासका मुद्दामा साझेदारी हुने विश्वास व्यक्त गरेका थिए।