PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेदरल्याण्ड्सँग भिड्दै नेपाल



पहिलोपोस्ट

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेदरल्याण्ड्सँग भिड्दै नेपाल

आइसीसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपालले आज चौथो चरणको दोस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ।
 
नेदरल्याण्ड्सको आम्टलभिनस्थित भिआरए ग्राउण्डमा नेपाली समयअनुसार दिउँसो २:५० बजे खेल सुरु हुनेछ।
 
शनिबार भएको पहिलो खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको नेपालको लागि आजको खेल निकै महत्वपूर्ण छ। आजको खेलमा पनि पराजित भए शीर्ष ४ मा पर्न नेपालको लागि कठिन बन्नेछ। त्यसैले पनि आजको खेलमा नेपालले ब्याटिङमा सुधार गर्नु जरुरी छ।
 
चौथो चरणको एक खेल खेलिसक्दा नेपाल ४ अंक सहित लिग तालिकाको छैटौं स्थानमा छ। उता अपराजित रहेको नेदरल्याण्ड्स १२ अंक सहित शीर्ष स्थानमा आसीन छ। नेपाल विरुद्धको खेल जिते नेदरल्याण्ड्सको शीर्ष ४ रहने करिब पक्का हुनेछ।
 
नेदरल्याण्ड्सको कन्डिसनमा अभ्यस्त हुन नसकेको नेपालले पहिलो खेलमा फितलो ब्याटिङ गरेको थियो। पूरै ५० ओभर समेत खेल्न नसकेको नेपाल ३८ दशमलव १ ओभरमा मात्रै ९४ रनमा अलआउट भयो। नेदरल्याण्ड्सले घरेलु मैदानमा नेपाललाई १६.१ ओभरमै हराइदियो।
 
पहिलो खेलमा नेपालका टप अर्डरका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सके भने कुनै खेलाडीले २० रनभन्दा बढी बनाउन सकेनन्। अनिल मण्डलले सर्वाधिक २० रन बनाए। कप्तान पारस सहित करण केसी शून्यमा आउट भएका थिए। ब्याटिङ अर्डर चल्न नसक्दा पुरानै समस्या दोहोरियो। पहिलो विकेटका लागि अनिल र ज्ञानेन्द्र मल्लले गरेको २३ रनको साझेदारी नै नेपाली इनिङको सर्वाधिक साझेदारी बन्यो। यस्तै लोअर अर्डरमा ब्याटिङ गरेका बलर सोमपाल कामीले १२ रन बनाएका थिए।
 
थोरै लक्ष्य दिएका कारण नेपालले बलिङमा समेत आफ्नो दक्षता देखाउन सकेन। दोस्रो खेलमा नेपालले पहिलो खेलको कमजोरी सुधार्दै खेल्नु जरुरी छ।
 
जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा रहेका ८ मध्ये शीर्ष ४ स्थानमा रहने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर पाउनेछ।
 
त्यसैले पनि नेदरल्याण्ड्सलाई हराउनैपर्ने बाध्यता छ। यदि नेपाल नेदरल्याण्ड्ससँग हुने दोस्रो खेलमा पनि पराजित भए बाँकी ३ चरणको ६ वटै खेलाडी जित्नुपर्ने हुन्छ।
 
नेदरल्याण्ड्ससँगको खेलपछि नेपालले केन्या, हङकङ र युएईसँग खेल्ने तालिका रहेको छ।
 
नेपालले पहिलो र दोस्रो चरणको खेलमा स्कटल्याण्ड र पपुवा न्युगिनीसँगको खेल हारेको थियो भने तेस्रो चरणको खेलमा नमिवियालाई हराउँदै अंकको खाता खोलेको थियो।
 
चौथो चरणको खेल अन्तर्गत स्कटल्याण्ड र युएईबीचको पहिलो खेल पनि भइसकेको छ। जसमा स्कटल्याण्ड ९८ रनले विजयी भएको छ। यी दुईबीचको दोस्रो खेल मंगलबार हुनेछ।
 
अहिलेसम्मको अंक तालिका यस्तो छ-



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell